‘कान्छो पदाधिकारी’को रुपमा ‘डेब्यू’ गर्ने तयारीमा शेरधन राई


प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १८:३२

काठमाडौं, ९ मंसिर : नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एंव प्रदेश नं १ सह–इन्चार्ज शेरधन राई राजनीतिमा अन्य नेताहरुको तुलनामा उमेर भन्दा एक कदम अघि छन् । भोजपुर जिल्लाबाट ०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक विजयी हुँदा उनकोे उमेर थियो, २७ वर्ष । उतिबेला प्रतिनिधिसभाको कान्छो सदस्य ‘कान्छो सांसद’को रुपमा उनको चर्चा थियो ।

२०५४ सालमा संसदीय चुनाव लड्दै गर्दा उनी २७ बर्षे लक्का जवान थिए । आकर्षक र खाईलाग्दो अनुहार । पोष्टरमा उनको तस्बिर देखेर उनका समर्थकहरुले नारा लगाएका थिए,‘भोट कसलाई, हाम्रो कान्छा भाईलाई ।’

२७ वर्षकै उमेरमा सांसद भएका राई २०७४ फागुन २ गते प्रदेश नं १ को प्रथम मुख्यमन्त्रीमा नियुक्त भए । ७ प्रदेशको मुख्यमन्त्री मध्ये उनी कान्छो मुख्यमन्त्री नै थिए । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुने महाधिवेशनमा राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । राई ‘कान्छो पदाधिकारी’को रुपमा एमालेको मुख्य नेतृत्व अर्थात् पदाधिकारीमा ‘डेब्यू’ गर्ने तयारीमा जुटेका हुन् ।

भोजपुर दुर्गम दक्षिणी क्षेत्रमा पर्ने साबिकको थिदिङ्खा –५ पसलभञ्ज्याङ हालको आमचोक गाउँपालिका ३ मा सामान्य किसान परिवारमा २०२७ साल फागुन ११ गते जन्मिएका राई पूर्व सूचना तथा संचार प्रविधि मन्त्री समेत हुन् । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट विजयी राई संविधानसभामा संविधान मस्यौदा समितिको सदस्य र सुशासन तथा अनुगमन समितिको सभापति थिए ।

०४४-०४५ सालमा भोजपुर बहुमुखी क्याम्पसमा पढ्दा विद्यार्थी राजनीतिमा लागेका हुन् । कलेजको प्रारम्भिक कमिटीमा रहेर काम गर्दागर्दै भूमिगत रुपमा बोखिमको दाम्सिङमा भएको अखिलको सम्मेलनले जिल्ला कमिटीमा चुनेपछि उनी राजनीतिमा सक्रिय भए ।

अखिलको जिल्ला अध्यक्षमा काम गर्दागर्दै ०५० मा हेटौंडामा भएको सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै पुर्वाञ्चल प्रमुख भए । ०४८÷४९ तिर युवा संघको प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्लाको सहसचिव हुँदै कार्यवाहक अध्यक्ष समेत भए । ०५२ मा भएको अखिलको १३ औं सम्मेलनबाट पुनः केन्द्रीय सदस्य र पुर्वाञ्चल प्रमुख बनेका राई ०४९ मा पार्टीको जिल्ला नेतृत्वमा आए ।

०५४ मा एमाले पार्टी विभाजित हुँदा राई एमाले भोजपुरको उपसचिव थिए । अधिकांश नेता कार्यकर्ता पार्टी विभाजनसँगै मालेमा जाँदा राई एमालेमै रहे । त्यसपछि एमालेको नेतृत्व सम्हालेका राईले ०७० बैशाखसम्म लगातार चार कार्यकाल पार्टीको नेतृत्व गरेका थिए ।

तत्कालिन पार्टी उपाध्यक्ष अशोेक राईले पार्टी छोडेर नयाँ पार्टी बनाउदै गर्दा धेरै भोजपुरका अगुवा नेताहरुले पार्टी छोडे । त्यतिबेला शेरधन जिल्ला अध्यक्ष थिए । २४ जिल्लाका आदिवासी जनजाति मुलका पार्टी अध्यक्षहरुले एमाले बचाउँ अभियान सुरु गरे । त्यो अभियानका नेतृत्वदायी भुमिकामा थिए शेरधन । एमालेको अभियानमा सधैं उनी अडिक रहे । टुटफुट र बिभाजनमा उनी अविचलित रुपमा एमालेको रक्षामा लागिरहे ।

शेरधनले संसदको निकै प्रभावी सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा केही समय काम गरे । उनी संसदको सुशासन तथा अनुगमन समितिको सभापति रहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाएर स्पष्टीकरण समेत सोधेका थिए । प्रमुख आयुक्तसहितका अधिकारीहरुलाई अख्तियारमाथि हाल उठिरहेका विभिन्न प्रश्नका बारेमा प्रष्टीकरण सोधेपछि त्यो बेला उनको कदम चर्चामा थियो । उनले कार्कीलाई सोधका थिए, ‘अनुसन्धान कसरी गरिन्छरु कारवाहीका प्रक्रियाहरु कसरी अगाडि बढाइएको छरु त्यहाँका गुप्तचर र जनशक्तिको अवस्था कस्तो छरु अहिले उठिरहेका विभिन्न प्रश्नहरुको सन्दर्भमा अख्तियारको भनाई के हो ?

निर्दोष मान्छेहरु पनि कारवाहीमा परिरहेका छन् कि ? ’ जतिबेला लोकमानलाई संसदीय समितिमा बोलाएर उनले प्रश्न सोधे त्यतिबेला लोकमानको जगजगी र आतंक थियो । त्यही बेला जोखिम मोलेरै उनले समितिमा बोलाएका थिए ।

सूचना तथा सञ्चारमन्त्री भएको बेला पनि उनले नीति निमार्णको सन्दर्भमा राम्रो काम गरेका थिए । उनी सञ्चार मन्त्री भएको बेला बनेको आमसञ्चार नीति निकै उपलब्धी मानिन्छ । राष्ट्रियता र समावेशीताको हिसाबले यो आम सञ्चार नीतिलाई सञ्चार क्षेत्रको कोशेढुङ्गा मानिन्छ । आमसञ्चार प्रतिष्ठान गठन, विज्ञापन परिषद् निर्माण, क्लिन फिड, सार्वजनिक प्रशारण सेवाको सन्दर्भमा उनले नीतिगत रुपमा दिर्घकालिन रुपमा काम गरेर छोडेका छन् । क्लिन फिड राष्ट्रियताको सन्दर्भमा निकै ठुलो राख्ने नीति हो ।

प्रतिक्रिया दिनुहोस्