एकताको पक्षमा लाग्दा योगेश भट्टराईले व्यहोरेका अप्ठ्यारा र सहेका अपमान


१० मंसिर २०७८, शुक्रबार
Yogesh Bhattarai

काठमाडौं, १० मंसिर : गत २०७७ फागुन–चैत तिर नेकपा (एमाले) निकै अप्ठ्यारोमा थियो । २३ फागुनमा सर्वोेच्च अदातलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत अवस्थामा फकाई दिएको थियो । खासगरी तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले ‘२३ फागुन यताको समय राजनीतिक जीवनको अप्ठ्यारो र पीडादायी समय’ को रुपमा व्याख्या गर्ने गरेका थिए ।

अदालतको फैसलापछि एमालेका वरिष्ठ नेता नेपाल समूह २४ फागुनमा एमाले क्रियाशिल बन्ने निर्णय गरेर फर्किएको थियो । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर नेपाल समूहलाई फर्किन अप्ठ्यारो हुने गरी विभिन्न निर्णय गरे ।

अध्यक्ष ओली अदालतको फैसला र पार्टीको विधान विपरीत पार्टी कब्जा गर्ने नीतिमा लागेको भन्दै नेपाल समूह नराम्ररी झस्कियो । ‘प्रवेश निषेध’ पछि धुम्बाराही हिंडेको नेपाल समूह ललितपुरको झम्सीखेल (फागुन ४–५ राष्ट्रिय भेला) तिर लाग्यो । यो भेलाले गरेका निर्णयको बारेमा नेपाल समूहभित्रका नेताहरुले आ-आफ्ना सुविधा अनुसार व्याख्या गरे ।

तलैसम्म समानान्तर कमिटी बनाएर अलग पार्टीको अभ्यास गर्ने निर्णयमा पुगेपछि धेरै नेताहरुले अलग पार्टी निर्माण गर्ने पक्षमा उभिए । तर ती मध्येमा सचिव योगेश भट्टराईले भने सुरुदेखि अलग पार्टी निर्माणमा सहमति जनाएनन् । ‘पार्टी एकता’को पक्षमा उनी दृढ भएर उभिए । उनको प्रष्ट अडान थियो, ‘एकता बाहेक अर्को विकल्प छैन । बाटो छैन ।’

अन्तर संघर्ष चलिरहेकै बेला योगेशले तत्कालिन वरिष्ठ नेता तथा विचार समूहका प्रमुख नेता माधव नेपाललाई २०७७ फागुनको दोस्रो साता भेटेर भनेका थिए, ‘तपाईले अलग पार्टी बनाउनुहुन्छ भने बनाउनुहोस् तर म त्यो पार्टीमा लाग्दिन । एमालेमा मलाई सदस्यबाट पनि निकाल्लान् । तर म यहिँ बस्छु । एमालेको सांसदको रूपमा संसदमा र मतदातको रूपमा सूर्यमा भोट हालिदन्छु ।’

ललितपुरको झम्सीखेल (२०७७ फागुन ४–५) मा भएको राष्ट्रिय भेलापछि तत्कालिन माधव नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी कमिटीको कैयन बैठकहरु बस्यो । तर योगेश आफ्नो अडानमा सधैं अबिचलित रहे । हाल नेकपा (एकीकृत समाजवादी)का पदाधिकारी रहेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘योगेशजी चहिँ सुरुदेखि नयाँ पार्टी निर्माणको बिपक्ष र एकताको पक्षमा नै दृढ हुनुहुन्थ्यो ।’

यसबीचमा पार्टीको समानान्तर कमिटी र जनसंगठनहरुको समानान्तर कमिटी निर्माण पनि चलिरहेको थियो । त्यो बेला योगेशलाई बोलाउनु त परै जाओस् उनी तारोमा परे । जनसंगठनको भर्चुअल बैठकहरुमा नामै लिएर योगेशको बिरोध सुरु भयो । कारण थियो, योगेश एकताको पक्षमा उभिएका थिए । अधिकांस जनसंगठनका नेताहरु भने नयाँ पार्टी निर्माणको पक्षमा उभिएका थिए । एकताको पक्षमा बोले बापत उनलाई कतिपय जनसंगठनका नेताले बैठकमै ‘भगौडा, गद्दार, भाइरस’को रुपमा समेत व्याख्या गरे । ‘एकताको पक्षमा कुरा गरेर नयाँ पार्टी निर्माणमा अबरोध’ गरेको निकष्र्ष सहित योगेश बिरुद्ध सार्वजनिक सञ्जालहरुमा युवा र विद्यार्थीका नेताहरुले लेख्न सुरु गरे ।

त्यसो त नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले २७ असार २०७८ मा १० बुँदे सहमति नजुटाएसम्म योगेश ‘आइसोलेट’ जस्तै भएर बसीरहे । ‘आइसोलेट’ अर्थात् तत्कालिन विचार समूहले निशानामा थिए भने एमालेमा क्रियाशिल बन्ने अवस्था नै थिएन । यस्तो अवस्थामा पनि उनी पार्टी एकताको पक्षमा उभिरहे ।

आफूलाई भेट्न जाने वा आफू निकटलाई उनको प्रष्ट भनाई थियो, ‘यो बेला पार्टी बिभाजन गर्नु भनेको नेपालको कम्युनिष्ट आन्दोलन मात्रै होइन लोकतान्त्रिक आन्दोलनलाई समेत कमजोर बनाउनु हो । एमाले विभाजन भए देश कमजोर बन्छ । लोकतन्त्र र देशको लागि पनि बलियो एमाले जरुरी छ ।’

योगेशले कित्ता क्लियर गर्दाको फाइदा
अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा आएका योगेशको देशभरी आफ्नो नेटवर्क र सुभेच्छुकहरुको समूह छ । ‘योगेश के गर्छ ?’ भनेर हेरिरहेका एमालेका नेता तथा कार्यकर्ताहरु पनि देशभरी थियो । योगेशले समयमै कित्ता क्लियर गर्दा त्यस प्रकारका नेता तथा कार्यकर्ताहरुलाई ‘सजिलो’ भएको थियो । ‘सजिलो’ अर्थात् उनीहरु बेग्लै पार्टी निर्माणमा सक्रिय हुने अवस्था दुर भएको थियो ।

एमालेबाट बिद्रो गरेर नयाँ पार्टी निर्माण गरेका नेता तथा कार्यकर्ताहरुको आरोप छ, ‘१० भाइ’ अर्थात् १० पदाधिकारीले हामीलाई विद्रोहतिर घचेटेर उनीहरु एमालेमा नै बसे । तर, आरोप मेल खादैंन । योगेशले सुरुमा नै वरिष्ठ नेता नेपाललाई भनेका थिए, ‘नयाँ पार्टी बनाउने हो भने मेरो साथ हुन्न । केपी ओलीसँग फाइनल कुरा छ भने पनि गर्नूस् । वान–टु–वान गर्ने भए पनि गर्नूस । अरु मान्छेको जिम्मा लिने काम पनि अब तपाईंले नगर्नूस् । सबै मान्छेको जिम्मा लिनुपर्दैन । उनीहरू आफैं जे गर्लान् कोही एमालेमा बस्लान् कोही राजनीति नै छाडेर हिँड्लान् जे होला । तर तपाईँ दुविधामा नबस्नुहोस् ।’

नेकपामा कालमा पनि एकताकै पक्षमा
१० बूँदे सम्झौतापछि उनी एमालेमा सक्रिय भए । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तारो उनै योेगेश र घनश्याम भुसालप्रति देखियो । आफ्नो हरेक जसो भाषणमा प्रचण्डले यी दुई भाई लगायत दोस्रो पुस्ताको बिरुद्धमा बोली रहे । गत २०७८ असोज ४ गते एक कार्यक्रममा घनश्याम र योगेशहरुले ओलीसँग ‘आत्मसमर्पण’ गरेको प्रचण्डले बताए । भनेका थिए, ‘तर, फेरि जसले आफूलाई अलि वैचारिक भन्थे ती मान्छेहरु सबैले आत्मसमर्पण गरे । केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई ।’

यसैगरी ७ असोज २०७८ मा पनि प्रचण्डले उही कुरा दोहोराएका थिए । घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने बताएका थिए । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गदै प्रचण्डले भने, ‘ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन ।’

प्रचण्डले ओली बिरुद्ध लड्न उनीहरुले आफूलाई उक्साएको दलिल पेश गरेका थिए । तर नेकपा कालमा प्रचण्डलाई घनश्याम र योगेशले पटक–पटक अध्यक्ष ओलीसँग मिल्न भनेका थिए । उनीहरु दुबैले भनेका थिए, ‘कमरेड प्रचण्ड, अहिले तपाई कमरेड ओलीसँग मिलेर अघि बढ्नुहोस् । अनि मात्रै एकता जोगिन्छ ।’

ओलीको विचार र कार्यशैलीसँग गहिरो विमति राखेर हिडिरहने पनि नेकपाको एकताको बचाइराख्न ओली र प्रचण्ड मिल्नु पर्ने प्रष्ट धारण थियो उनीहरुको । प्रचण्डसँग भेटेर उनीहरु दुबैले पटक(पटक भनेका थिए, ‘कमरेड ओलीसँग हामी लडौंला । तर तपाई मिल्नुहोस् । त्यति पर पनि नजानुहोस् की यो लडाईले पार्टी नै विभाजन होस् । हामी नमिल्दा वा लड्दा पार्टी ब्रेक हुदैंन तर तपाई नमिल्दा पार्टी ब्रेक हुन्छ ।’

ओली र प्रचण्ड मिल्दा आफ्नो समूह किनारामा पर्ने तर एकता जोगिने उनीहरुको निचोड थिए । उनीहरुले भनेका थिए, ‘हामी किनारामा परेर होस् । अन्याय सहेर होस् । अहिले एकता बचाइराख्नुपर्छ । एकता जोगियो भने सबै जोगिन्छ ।’

गत जेठ २०७८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन गरेको आव्हानमा तत्कालिन नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने निर्णय गर्यो । तर योगेशले हस्ताक्षर गरेनन् । त्यसपछि उनी समूहभित्रै तारोमा परे । तर उनी समूहको केन्द्रीय कमिटी बैठक र स्थायी कमिटी बैठकमा जान भने छोडेनन् । उनले बैठकमा एकताको पक्षमा विचार राखीरहे ।

अझै तारो ?
यही २०७८ मङ्सिर १०–१२ गतेसम्म चितवनको नारायणगढ र सौराहामा (एमाले) ले विसुद्ध नेतृत्वज चयनको लागि दशौं राष्ट्रिय महाधिवशेन आयोजना गरेको छ । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा सहित सुरु हुन लागेको महाधिवशेनप्रति सबैको चासो बढेको छ ।

महाधिवशेनको चासो सबैभन्दा बढी एमालेबाट व्रिदोह गरेर पार्टी बनाएका नेकपा (एकीकृत समाजवादी)को नेता तथा कार्यकर्ताहरुमा देखिएको छ । समाजवादीका नेता तथा कार्यकर्ताहरुको अनुमान र आशा छ, ‘एमालेका १० बूँदे सहमति गरेर बसेका १० भाइ निर्वाचनमा पराजित हुनेछन् । र फेरि एमालेमा विद्रोह हुनेछ ।’

यही प्रसङ्गमा समाजवादीका एक सचिवले अध्यक्ष ओली निकट एक केन्द्रीय कमिटी सदस्यसँग गरेको संवादले प्रष्ट गर्छ । केही दिन अघि ती सचिवले भनेका थिए, ‘ओली समूहको जो सुकै जितोस् हामीलाई मतलब भएन । तर ती १० भाईको चहिँ पत्तासाफ हुनुपर्छ ।’

दशौं राष्ट्रिय महाधिवशेन हुदै गर्दा तीन मनोविज्ञान जिवित छ । एक, संस्थापन, दुई १० बुँदे समूह र तीन पूर्वमाओवादी । यी मध्ये अप्ठ्यारोमा रहेका दुई मनोविज्ञानलाई नसमेटिए एमालेमा बिग्रह आउने सबैको अनुमान छ । तर सबै नेताहरुले एमालेमा बिग्रह हुन्छ भनेर कसैले बाटो नकुर्न भनेका छन् । एमालेका महाचिव ईश्वर पोखरले एमाले भित्र विग्रह हुन्छ भनेर कसैले बाटो हेरेको भए त्यो दिवा सपना मात्रै भएको बताएका छन् । एमाले छोडेर गएकाको कामना र प्रचण्डको भबिष्यबाणी जस्तो दस भाई सडकमा फालिन्छन् वा नेतृत्वमा पुग्छन् ? त्यो केही दिनभित्र नै देखिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७