एमाले महाधिवेशन आजबाट, नेतृत्वमा सर्वसम्मत गराउन ओलीलाई दबाब

महाधिवेशनस्थल वरपर २५ सय सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक परिचालन


१० मंसिर २०७८, शुक्रबार
amale 1

चितवन, १० मंसिर । एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) देखि चितवनमा शुरु हुँदैछ । अध्यक्ष केपी ओलीले दिउँसो १ बजे नारायणी नदीको किनारामा राष्ट्रिय महाधिवेशनको उदघाटन गर्नेछन् । एमालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनेछन् ।

एमालेले उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता कार्यकर्ता सहभागी हुने दाबी गरेको छ । ओलीसहितका नेताहरू बिहीबार चितवन आइपुगेका छन् । बन्द सत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा सेल्फी प्वाइन्ट बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।

एमाले महाधिवेशनस्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् ।

‘पहिलो दिन महाधिवेशन स्थलमा र दोस्रो दिनबाट बन्दसत्र सञ्चालन हुने सौराहालाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौं,’ चितवन प्रहरी प्रमुख उपरीक्षक ओम अधिकारीले भने । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू र विदेशी पाहुना आउने भएकाले स्थानीय प्रशासनले त्यहीअनुसारको सुरक्षा व्यवस्था र रणनीति तयार गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको भनाइ छ । ‘भीआईपी बसेको होटलदेखि कार्यक्रम स्थलसम्म ल्याउने, पुर्‍याउने रुट निर्धारण भइसकेको छ,’ उनले भने ।

उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ तामाङले बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ । ‘एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारीसाधन व्यवस्थापन गरेर सञ्चालन गर्ने वातावरण मिलाएका छौं,’ उनले भने ।

महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका पाँच हजार स्वयंसेवक खटिने एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । ‘बन्द सत्रमा तीन सय स्वयंसेवक परिचालन हुनेछन् । उनीहरू खुला कार्यक्रमका स्वयंसेवकभन्दा अलि विशेष प्रशिक्षण लिएकाहरू छन् । सहभागीलाई गाडीमा ल्याउने, पुर्‍याउने जिम्मेवारी पनि स्वयंसेवकको हुनेछ,’ उनले भनिन् ।

नेतृत्वमा सर्वसम्मत गराउन ओलीलाई दबाब
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन शुरु हुँदै गर्दा नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

महाधिवेशनको लागि बिहिवार सौराहा पुगेका ओलीलाई उनी बसेको होटलमै पुगेर नेताहरुले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै दबाब दिएका हुन् । आफूलाई भेट्न पुगेका नेताहरुलाई ओलीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने विश्वास दिलाएका छन् । तर अध्यक्षमा भीम रावलले समेत दाबी गरेको र अरु पदमा पनि आकांक्षी नेताहरु धेरै भएकाले सर्वसम्मति गराउन चुनौती देखिएको छ ।

महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन् । महाधिवेशनमा भूगोल र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधिहरूले केन्द्रीय सदस्यको आकाङ्क्षा राखेका छन् । एमालेमा अहिले एक सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ ।

संशोधित विधानअनुसार महाधिवेशनबाट दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ । यसमा १५ जना पदाधिकारी पनि पर्छन् । महाधिवेशनबाट दुई तिहाइ अर्थात एक सय ५० पुरुष र एक तिहाइ अर्थात ७५ महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । उनीहरूमध्ये ६० पुरुष र ३८ महिला खुला क्षेत्रबाट तथा सात प्रदेशबाट २८ पुरुष र १४ महिलासहित ४२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । एमालेमा नौवटा क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७