एमाले महाधिवेशनको आकर्षण मस्कट


१० मंसिर २०७८, शुक्रबार
thumb 2 2

चितवन, १० मंसिर । नारायणी नदी किनारमा एमालेको झण्डा फरफराइरहेको थियो । आकर्षक ढंगले सजाइएको मञ्चअघि फोटो खिच्नेहरूको ध्यान एक्कासि किनारतर्फ सोझियो । मञ्चको दाहिनेतर्फ बनाइएको गैंडाको मस्कट राखेपछि नेता कार्यकर्ता त्यतै लागे ।
भूइँमा ढुंगाको आकार निकालेर अबिर राखेर चुनाव चिह्न सूर्य बनाइएको छ । त्यसको माथि हँसिया हथौडा अंकित झण्डा बोकेको गैंडाको मस्कट छ । एमाले महाधिवेशन स्थलमा पुग्ने सबैको ध्यान केन्द्रित गरेको छ ।

कात्तिक २६ गते एमालेले गैंडाको मस्कटसहितको लोगो सार्वजनिक गरेको थियो । लोगोमा मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ । कलाकार सूर्य मध्यरातको समूहले १० दिन लगाएर बनाएका छन् । ‘छोटो समयमा मिहेनत गरेर मूर्ति बनाएका छौं,’ उनले भने ‘यो २० वर्ष टिक्छ ।’

गैंडाको मस्कट फाइबरबाट बनाइएको हो । एमालेले आफ्नो चिनोका रूपमा संधैका लागि छाडेर जानेछ । नारायणी किनारमा पुग्नेका लागि सेल्फि प्वाइन्ट बनाएको हो । मस्कटसँग सेल्फि र फोटो खिच्न बुधबारदेखि नै मानिसको घुइँचो लागेको छ । पर्यटकीय नगरी चितवनको विशेषता हो, ‘एक सिङ्गे गैंडा’ । विश्वमै दुर्लभ मानिएको गैंडालाई यसपटक एमालेले महाधिवेशनमा केन्द्रित गरेको छ । दसौंै महाधिवेशनबाट गैंडाको मस्कटले जुन सन्देश जान्छ त्यसले संरक्षणकर्मी खुसी छन् ।

दुई दशकदेखि गैंडा संरक्षणमा लागेका डब्लूडब्लूएफका माधव खड्काले राजनीतिक दलले गैंडालाई प्राथमिकता दिएका कारण संरक्षणमा टेवा पुग्ने बताए । ‘हामीले दसकौं लगाएर लाखौं शक्ति लगाउँदा पनि नेपाली जनताको बीचमा गैंडाको महत्व बुझाउन जुन समय लाग्थ्यो, विश्वास गर्न जति समय लाग्थ्यो । त्योभन्दा बढी एकैपटक एकै ठाँउबाट सन्देश जानेछ,’ उनले भने, ‘राष्ट्रिय पार्टीले आफ्नो महाधिवेशनमा गैंडाको मस्कट बनाउनु गैंडाप्रतिको सम्मान र संरक्षणको सहयोग हो ।’ नेपालमा ७ सय ५२ र चितवनमा मात्रै ६ सय ४५ गैंडा छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७