एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आजदेखि कांग्रेसको जिल्ला अधिवेशन


१० मंसिर २०७८, शुक्रबार
Congress

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन शुरु भइसकेको छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिमा उल्लेख छ । प्रदेश दुईका आठ जिल्ला बाहेक बाँकीमा आजदेखि नै जिल्ला अधिवेशन शुरु हुने निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा सोमबार जिल्ला अधिवेशन हुँदैछ भने ललितपुरमा आज जिल्ला अधिवेशन हुँदैछ । मकवानपुरमा प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । चितवनमा पनि जिल्ला अधिवेशन अनिश्चित छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबारसम्म करिब ३० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका रसुवा, खोटाङ, दार्चुला, धनकुटामा अधिवेशन हुन बाँकी छ । सोलुखुम्बुमा पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि मंसिर १४ गते फेरि निर्वाचन हुँदैछ ।

कांग्रेस प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहेका महाधिवेशन प्रतिनिधि चयन अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७