पूर्व माओवादी लडाकुलाई फकाउँदै ओलीले भने, ‘युद्ध तपाईहरुले लड्नु भो, मेयर अरु नै बने’

‘दशौं हजार पूर्व लडाकु एमालेमा प्रवेश गर्दैछन्’


१० मंसिर २०७८, शुक्रबार
oli chitwan

चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया अझैसम्म टुंगो नलागेकोमा दुःख व्यक्त गरेका छन् । चितवनमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष प्रहार गरेका छन् ।

प्रचण्डले केही समयअघि चितवनमा आयोजित कार्यक्रममा आफू प्रधानमन्त्री नभए पनि गठबन्धनमा शक्तिशाली रहेको बताएका थिए । त्यही अभिव्यक्तिलाई ओलीले सरकारको कठपुतली भन्दै प्रचण्डलाई शान्ति प्रक्रियाको टुंगो किन नलाएको भन्दै प्रश्न गरे ।

उनले भने, ‘शक्तिशाली हो भने अहिलेसम्म शान्ति प्रक्रिया किन टुंगोमा लागेको छैन ? जेलमा रहेकाहरुको झुठो मुद्दा किन खारेज गर्नु हुन्न ? घाइतेहरुको किन उपचार हुन सकेको छैन ?’ ओलीले आफूले शान्ति प्रक्रियाको टुंगो लगाउने बताए । उनले पूर्व लडाकुहरु एमाले प्रवेशन गर्न लागेको भन्दै एमालेले अब उनीहरुको समस्या समाधान गर्ने बताए ।

‘मन परेका मान्छेलाई १०–१० हजार बाँडेर समस्याका समाधान हुन्छ । घाइते, अपाङ्ग, अंगभंग भएकालाई रोजगार दिनुस् तपाई सरकारमा हुनुहुन्छ । किन पावर देखाउनु हुन्न । लडाकुको समस्या समाधान गर्नुस्,’ उनले प्रचण्डलाई इंगित गर्दै भने । उनले मेयर बनाउनलाई युद्ध गरेको भन्दै प्रचण्डलाई भने, ‘कुल्ली दाइले बाटो बनायो गाडी अर्कैको ।’
‘दशौं हजार पूर्व लडाकु एमालेमा प्रवेश गर्दैछन्’
एमाले अध्यक्ष केपी शर्मा ओलीले दशौं हजार पूर्व लडाकु एमालेमा प्रवेश गर्ने तयारी गरेको बताएका छन् । आज पनि लाखौंको संख्यामा मान्छेहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेको उनको जिकिर थियो ।

ओलीले भने, ‘अहिले नेकपा एमालेमा दैनिक रुपमा प्रवेश गरिरहेका छन् । आज पनि यस कार्यक्रममा लाखौं मान्छेहरु एमालेमा प्रवेश गर्नु हुन्थ्यो । तर यो मञ्च त्यसका लागि हैन । मिल्ने भए यहाँ लाखौं मान्छे प्रवेश गर्नु हुन्थ्यो । अब यो हिउँदभरी एमालेमा प्रवेशको लहर चल्छ । फागुनसम्मै एमालेमा प्रवेशका कार्यक्रम चल्दै जानेछ,’ नेता ओलीले बताए ।

यस क्रममा उनले एमालेले नै अब राष्ट्रिय समस्या समाधान गर्नसक्ने दाबी गरेका गरे । यस्तै नेता ओलीले सूर्यचिन्ह अंकित एमालेको झन्डाको बयान गर्दै सूर्यमा सबै अटाउनसक्ने तर्क गरेका थिए । साथै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि काम गर्न नसकेको भन्दै व्यंग्य गरेका थिए ।

उनले सत्ता गठबन्धन दलहरूका कारण देउवाले काम गर्न नसकेको टिप्पणी गरे । ’मलाई अप्ठ्यारो पार्नेहरु । मेरा खुट्टा तान्नेहरू उहाँको खुट्टा तान्दैछन् । सायद उहाँ काम गर्न चाहनुहुन्थ्यो होला,’ ओलीले भने । नेता ओलीले आगामी चुनावपछि एमालेले नै बहुमत ल्याएर सरकारको नेतृत्व गर्नै दाबी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७