‘म्यान अफ इलेक्सन’ जसले एमालेलाई मुलप्रवाह बनाए, आफू चहिँ किनारामा परिरहे

किनारामा पारिएका ‘कमाण्डर’ माथि यसपालि न्याय होला ?


१० मंसिर २०७८, शुक्रबार

काठमाडौं, १० मंसिर : २०७४को स्थानीय तहको निर्वाचनमा धनकुटामा एमाले विरुद्ध घेराबन्दी थियो । एमाले एकातिर, एमाले बाहेकको शक्ति अर्कातिर । दुई नगरपालिकासहित सबै सातवटै स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्वीप गरेको छ । धनकुटामा एमाले विरुद्ध कांग्रेस, राप्रपा र संघीय समाजवादी फोरमको त्रिपक्षीय गठबन्धन बनेको थियो ।

यो घेराबन्दीको बीच पनि स्थानीय तह निर्वाचन, २०७४ मा धनकुटामा एमालेले ‘क्लिन स्वीप’ गर्यो । सबै स्थानीय तहमा एमालेका उम्मेवार विजयी भए ।

‘क्लिन स्वीप’ पश्चात नेकपा (एमाले)ले २४ असार २०७४ मा विजयी सभाको आयोजना गरेको थियो । विजयको खुसी बाँड्न अध्यक्ष केपी शर्मा ओली आफैं धनकुटा पुगे । धनकुटामा आयोजित विजय सभामा अध्यक्ष ओलीले धनकुटाका कमाण्डर अर्थात् जिल्ला अध्यक्ष राजेन्द्र राईलाई एमालेको ‘म्यान अफ इलेक्सन’ घोषणा गरे ।

ओलीले भनेका थिए, ‘अब म उहाँलाई म्यान अफ इलेक्सन’को विशेष ट्रफी प्रदान गर्छु । यदि अरु जिल्लामा एमाले बिरोधीले निहुँ खोजे भने हामी भन्नेछौं, धनकुटाबाट राजेन्द्र राई पठाइदिउँ ?

अध्यक्ष ओलीले यो घोषणापछि रोष्टमबाट नेकपा (एमाले) धनकुटाका अध्यक्ष राई बसिरहेको ठाउँमै पुगेर दुबोको माला लगाइदिए । अध्यक्ष ओलीले जिल्ला अध्यक्ष राईको खुलेर प्रशंसा मात्रै गरेनन्, अन्य जिल्लाका बिरोधीहरुलाई राजेन्द्र राई पठाएर ठीक पार्ने समेत बताए । ओलीले भने, ‘एमाले बिरोधीहरुले बढी चरक–मरक नगरे हुन्छ, धनकुटाबाट राजेन्द्र राई पठाइदिउँला ।

स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो । लोकतान्त्रिक गठबन्धबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री सूर्यबहादुरका छोरा सुनिल थापा वहालवाला मन्त्रीलाई पराजित गरे । राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गरे भने थापाले थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरे । आफूले मात्रै जितेनन् । प्रदेशसभामा दुबै उम्मेदवार उनकै नेतृत्वमा विजयी भए ।

निर्वाचनको क्रममा राईलाई अध्यक्ष ओलीले मन्त्री बनाउने आश्वासन दिएका थिए । यसविचमा अनेकौं फेरबदल भयो । चुनाव जिते लगत्तै अध्यक्ष ओलीलाई भेट्न जादा पनि ओलीले राईलाई भनेका थिए,‘मैले कुरो बुझेको छु ।’ तर उनले अवसर पाएनन् ।

अध्यक्ष राईलाई मन्त्री त बनाइएन नै एमाले र माओवादी एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्य थपिदा समेत उनको नाम अटेन । यो लगत्तै राईमाथि अन्याय भएको भन्दै धनकुटाका कार्यकर्ताहरुले आक्रोश पोखे । तर सुनुवाई भएन ।

उनीभन्दा धेरै जुनियर नेताहरु पनि मनोनित भए । कहिल्यै भुगोल र जनताको बिचमा नगएका नेताहरु समेत केन्द्रीय सदस्य बन्दै गर्दा सधैं भुगोलमा काम गर्ने राजेन्द्र परेनन् ।


जसले धनकुटामा एमालेलाई मुल प्रवाह बनाए

‘म्यान अफ इलेक्सन’ घोषणापछि राईलाई सम्मान गर्दै अध्यक्ष ओली


धनकुटा सदरमुकामदेखि करिब पाँच घन्टाको पैदलयात्रापछि पुगिन्छ, मुगा गाविस । त्यही मुगा गाउँमा ०२२ साल भदौ २९ गते जन्मिएका हुन् राजेन्द्र । जतिबेला प्राथमिकस्तरको शिक्षा मुगाकै सरस्वती प्राथमिक विद्यालयमा लिदै थिए त्यतिबेला पञ्चायती शासनको जवानी सुरु हुँदै थियो ।त्यसको दबदबा पूर्वमा सबैभन्दा बढी उनकै गाउँ मुगामा थियो ।

किनभने, तत्कालीन पञ्चायती प्रधानमन्त्री सूर्यबहादुर थापाको जन्मथलो पनि मुगा नै थियो । ‘मुगाली थापा’हरूको प्रभाव र दबाबले त्यतिबेलाका धेरै युवाहरू पञ्चायतको पक्षमा थिए । तर, उनलाई भने कहिल्यै त्यस्तो मोह जागेन । देशमै सूर्यबहादुरको जगजगी थियो । झनैं उनको जन्मथलो मुगामा कस्तो जगजगी थियो ? सबैले अनुमान गर्न सक्छन् । । ‘मुगाली थापा’हरूको आगनमा बसेर कम्युनिष्ट सजिलो थिएन । हो, त्यही अप्ठ्यारोमा कम्युनिष्ट बनेका मान्छे हुन् राजेन्द्र ।

उनै थापा परिवारको जगजगी थियो धनकुटामा । पछि माओवादी थपियो । त्यसबेलासम्म धनकुटामा एमाले रक्षात्मक अवस्थामा थियो । जब उनी नेतृत्वमा आए । उनी संगठन निर्माण जुटे । उनकै नेतृत्वमा एमाले एक नम्बर बन्यो ।

सधैं दृढ
तत्कालीन केन्द्रीय उपाध्यक्ष अशोक राईसहित दर्जन बढी केन्द्रीय नेताहरू एमालेलाई पहिचान बिरोधीको आरोप लगाउदै थिए । उनीहरू एमालेमा आवद्ध सबै जनजातिलाई पार्टी परित्यागको अभियान चलाउदै थिए । त्यही बेला एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई काठमाडौं हान्निए ।

उनको प्रस्ताव थियो– एमालेलाई लागेको आरोप खण्डन गर्नुपर्छ । यही दृढता लिएर उनी काठमाडौं पुगे । ‘पार्टीमाथि लगाइएका यी भ्रम र आरोपहरू कसरी चिर्ने ?’ केही समयपछि जनजाति समुदायकै एमाले जिल्ला अध्यक्षहरुले ‘एमाले बचाउ अभियान’ सुरु गरे । त्यो अभियानको नेतृत्व र पहलकर्ता मध्येका एक थिए, राई । त्यो अभियानले एमालेविरुद्ध लगाइएका भ्रम चिर्न र एमालेलाई बचाउन निकै ठूलो भूमिका खेल्यो ।

केही नेताहरुले एमाले परित्याग गरे । तर, राजेन्द्रहरुकै अभियानले कार्यकर्ता पंक्ति अविचलित रहे । त्यो संकटको समयमा राजेन्द्र राईले ‘वर्ग संघर्ष जिन्दावाद !’ भनेर मैदानको नेतृत्व गरे । यो मुलुकलाई जातजातिको आधारमा, भुगोलको आधारमा, धर्मको आधारमा विभाजन गर्ने षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिए, उनी ।

यस विचमा एमालेले विभाजन भोग्नु पर्यो । तर उनले धनकुटामा एमालेलाई संग्लो राख्न सफल भए । दुई नगरपालिकासहित सबै सातवटै स्थानीय तहका जनप्रतिनिधिहरु एमालेमा नै रहे ।

कष्टपूर्ण संघर्ष
०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीन भएर राजेन्द्र राई पार्टीमा काममा लागे । उनी धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय सहभागी भए । धनकुटा बन्दका क्रममा उनी गिरफ्तारमा परे । त्यसपछि ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो । त्यस घटनामा उनलाई मात्रै थुनिएको थियो ।

फुच्चे भएपनि आन्दोलनमा कुशल तरिकाले जनपरिचालन गर्नसक्ने भएकाले उनलाई पञ्चायती शासकले तारो बनाएका थिए । यसपछि उनलाई राजकाज मुद्दामा विराटनगर जेलमा लगेर २४ महिना थुनियो । जेलमा पनि उनी सबैभन्दा कान्छो राजनीतिक बन्दी थिए ।

२४ महिना लामो र कष्टकर जेल बसाइपछि रिहा भएर राई धनकुटा फर्किए । त्यसलगत्तै अनेरास्वावियु धनकुटाको उपाध्यक्ष भएर सङ्गठन निर्माणमा लागे । करिब एक वर्षजति सङ्गठन निर्माण गरेर राई उच्चशिक्षा र राजनीतिका लागि विराटनगरस्थित जनता ल क्याम्पसमा भए । विराटगरमा अखिलको नगर कमिटी सचिव भएर आन्दोलनमा लागे ।

०४६ सालको जनआन्दोलनको तयारीमा विद्यार्थी मोर्चाबाट उहाँ सक्रिय भए । तर, उनी आन्दोलनमा सहभागी हुन भने पाएनन् । जनआन्दोलनको पूर्वसन्ध्यामा खर्च लिन घर धनकुटा मुगा पुगेका बेला धनकुटाको पाख्रिबासमा ०४६ माघ १६ गते प्रहरीले पक्रेर फेरि धनकुटा जेलमा थुन्यो । त्यसपछि प्रजातन्त्र पुनःस्थापना भएको भोलिपल्ट चैत २७ मात्रै जेलबाट छाडियो ।

जनआन्दोलनको सफलतालगत्तै उनी अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्णकालीन बने । प्रजातन्त्र पुनःस्थापनापछि धनकुटामा पार्टी सङ्गठन निर्माण त्यति सहज थिएन । महापञ्च सूर्यबहादुर थापाको गृहजिल्ला भएकाले थापाको दबदबा उस्तै रह्यो । ‘जनआन्दोलनको सफलतापछि पार्टी निर्माण अन्यन्त चुनौतीपूर्ण थियो, पैसा, पद र अनेकौं तिकडमविरुद्ध केवल विचार मात्रै लिएर जाँदा निकै चुनौतीपूर्ण हुन्थ्यो,’ सम्झिन्छन्, ‘तर सारा अवरोधबीच हामीले विचार स्थापित गरिछाड्यौं ।’

अखिलको अध्यक्षपछि उनले तत्कालीन प्ररायुसङ्घको अध्यक्ष भएर युवाहरूलाई सङ्गठित गर्ने अभियान सुरु गरे । अखिलमा उनले सङ्गठित गरेका अधिकांश विद्यार्थी नेताहरू अहिले पार्टीको राम्रो तहमा पुगेका छन् । उनी ०४९ मा निर्वाचित जिविस सदस्य र ०५१ मा जिविस उपसभापति भए । त्यसपछि पार्टीको सचिवालय सदस्य हुदै किसान महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष जिम्मेवारी पनि सम्हाल्ले ।

०६२÷६३ को जनक्रान्तिमा जनपरिचालन गर्नपनि उनको सक्रिय सहभागिता रह्यो । आन्दोलनमा पार्टीतर्फबाट कमाण्डर थिए । ०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनी धनकुटाको निर्वाचित जिल्ला अध्यक्ष भए । त्यसयता उनी लगातार अध्यक्षको भूमिकामा छन् ।

यसपाली न्याय होला ?
आजदेखि नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजेन्द्र यसपटक केन्द्रीय सदस्यको उम्मेदवार छन् । किनारामा परेका यी ‘कमाण्डर’ पार्टीको मुलप्रवाह आउनेछन् या फेरि किनारामा पर्छन् ? किनारामा पारिएका ‘कमाण्डर’ माथि यसपाली न्याय होला ? त्यो केहीदिनमा थाहा लाग्नेछ ।

तर राई भने आफू सर्वसम्मत नेतृत्व चयन वा निर्वाचन जुनसुकै तरिकाले केन्द्रीय कमिटी बन्दा पनि आउने विश्वासमा छन् । भन्छन्, ‘नेतृत्व र प्रतिनिधिले मलाई यसपाली न्याय गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७