नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप कार्यक्रम शुरु


११ मंसिर २०७८, शनिबार
261683286 4456383164457288 1516173157659755437 n 1

काठमाडौं, ११ मंसिर । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यस्तो कार्यक्रमको शुरुवात गरिएको बैंकले जनाएको छ ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्देश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विभिन्न स्कुल÷कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ । बैंकले प्रदेश १ को महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश नम्बर २ को बीरगञ्ज पब्लिक कलेज, बागमती प्रदेशको काम्पिएन कलेज, गण्डकी प्रदेशको फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय, लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेशनल कलेज, कर्णाली प्रदेशको सुर्खेत मोडल कलेज र सुदूर पश्चिमाञ्चल प्रदेशको सुदूर पश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर प्रदान गर्ने नबिल बैंकले जनाएको छ । त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको छ ।

यसैगरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य बैंकले राखेको छ ।

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशिलताको तालिम दिइने छ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७