एमाले केन्द्रीय कमिटीमा अब १०१ जना महिला, कोटामा निर्णय हुन बाँकी


११ मंसिर २०७८, शनिबार
maha

चितवन, ११ मंसिर । दशौं महाधिवेशनबाट एमाले केन्द्रीय कमिटी महिला प्रतिनिधित्व बढ्ने भएको छ । शुक्रबार राति सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या बढाउने निर्णय गरेपछि महिला प्रतिनिधित्व बढ्ने भएको हो । नेता व्यवस्थापनमा सकस परेपछि एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । विधानतः २२५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् ।

केन्द्रीय कमिटीको आकार बढाएसँगै महिला एक तिहाइ अर्थात् कम्तीमा सय जना छानिने निश्चित भएको छ । यसअघि गोदावरी विधान महाधिवेशनको निर्णयअनुसार २२५ केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात ७५ जना महिला प्रतिनिधि छानिने अवस्था थियो ।

उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थप्ने निर्णय भएसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव हुने छन् । दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो ।

केन्द्रीय कमिटीको संख्या थपिएसँगै महिलाको कोटा बढे जस्तै आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, मजदुर, पिछडिएको क्षेत्रको कोटा पनि बढ्ने भएको छ । तर, उनीहरूको संख्या कति बढ्ने भन्नेबारे निर्णय हुन बाँकी नै रहेको एमाले नेताहरू बताउँछन् ।
‘अब केन्द्रीय कमिटीमा महिलाको जस्तै अन्य समावेशी क्लस्टरको संख्या पनि बढ्छ, तर कुन क्लस्टरको कति संख्या बढ्छ भन्ने निर्णय हुन बाँकी छ,’ नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले भने, ‘अब केही बेरमा बन्द सत्रबाट संख्या किटानी गरेर आयोगलाई जानकारी आउला ।’

यसअघि गोदावरीमा पारित विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना महिला, २२ जनजाति, १६ मधेसी, १० दलित, ६ थारु, ५ मजदुर, ४ मुस्लिम, ३ पिछडिएको क्षेत्र र ९८ जना खुल्लातर्फको कोटा तोकेको थियो । त्यस्तै, विधानमा सात प्रदेशबाट ६ जनाका दरले ४२ जना केन्द्रीय सदस्यको कोटा तोकिएको थियो । उपत्यका विशेष कमिटी र सम्पर्क समन्वय कमिटीबाट २–२ जना केन्द्रीय सदस्यको आरक्षण तोकिएको थियो । अब केन्द्रीय कमिटीको संख्या बढेर ३०१ पुगेसँगै विधानमा रहेका सबै क्लस्टरहरुमा संख्या थपिने दाहालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७