ओली समूहमै मिलेन कुरा, चार नेताले अडान नछाड्दा नेतृत्व मिलाउन सकस


११ मंसिर २०७८, शनिबार
oli full

चितवन, ११ मंसिर । नेकपा (एमाले) को चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षामा छन् । बन्द सत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपनि शीर्ष नेताहरुबीच आपसी समझदारी हुन सकेको छैन ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमै विवाद देखिएको हो । शुक्रबार राति चार पदाधिकारी र करिब ७५ जना केन्द्रीय सदस्य थप्ने निर्णय केन्द्रीय कमिटीबाट गरे पनि एमालेको नयाँ नेतृत्व छान्ने प्रक्रिया जटिल बनेको हो । केन्द्रीय कमिटीले सर्वसम्मतिमै नेतृत्व छान्ने सन्देश महाधिवेशन प्रतिनिधिहरु माझ पुर्‍याए पनि अध्यक्ष ओलीनिकट चार नेताले अडान नछाड्दा समस्या भएको हो । पटक–पटक छलफल गर्दा पनि नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल अडानबाट पछि नहटेका हुन् ।

एमालेमा अध्यक्ष ओलीलाई उपाध्यक्ष भीम रावलले चुनौती दिएका छन् । अर्कातिर वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेल ढुक्क भएको अवस्था नेम्वाङले चुनौती दिएका छन् । ओलीसँगको छलफलमा पोखरेल र नेम्वाङ दुवै वरिष्ठ उपाध्यक्ष छाडेर अन्य पदमा सम्झौता गर्न तयार नभएको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै महासचिव पदका लागि लुम्बिनीका दुई नेताबीच ठूलै प्रतिष्पर्धा देखिएको छ । महासचिवका दाबेदारद्वय शंकर पोखरेल र विष्णु पौडेल दुवै ओलीका विश्वास पात्र हुन् । तर ओली सौराहा ओर्लिएदेखि पार्क सफारी रिसोर्टमा सहमतिका लागि भइरहेका छलफलमा दुवै नेताले पनि महासचिवबाट पछि नहट्ने अडान लिएका छन् ।

पार्टी अध्यक्षको दावी गरेका भीम रावल र सुवास नेम्वाङबीच आपसी समझदारीका लागि भएको छलफलमा कुरा मिल्न नसकिरहेको नेताहरुले बताएका छन् । कुरा मिल्न नसकेपछि रावल पार्टी अध्यक्षका लागि मनोनयन दर्ता गर्न हिंडेका छन् । यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशन स्थलमा आइसकेका छन् । उनले पनि पार्टीभित्र सर्वसम्मतका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलकै क्रममा अध्यक्ष ओलीले सुवास नेम्वाङलाई बोलाए राष्ट्रपति बनाउने आश्वासन दिएका छन् । जसलाई नेम्वाङले अस्वीकार गरेका छन् ।

यता ओलीले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । जसलाई शाक्यले मौन सहमति जनाएको स्रोतले दावी गरेको छ । एमालेका एक शीर्ष नेताका अनुसार महासिचवमा शंकर पोखरेलले विष्णु पौडेललाई नछाड्ने भएका छन् । यसरी एकआपसमा समझदारी नगरेर ओली समूह नै एकअर्कालाई नछाड्नेमा पुगेका छन् । जसका कारण महाधिवेशनको बन्द सत्र शुरु हुन ढिलाइ भइरहेको छ ।

हिजो पार्टीको केन्द्रीय कमिटीको बैठकले सहमतिकै लागि २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । त्यो प्रस्ताव पनि अलपत्र परेको छ । १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिट ब्युरो अन्योलमा परेको छ । आज बिहान ११ बजे हुने भनिएको बन्द सत्र सहमतिको प्रयास जारी छ । बन्द सत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ । सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा बन्द सत्र हुने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७