जालझेल र षड्यन्त्र गरेर एमालेलाई प्रतिपक्षमा पुर्‍याइयो : ओली

‘एमाले सिद्धियो भन्नेहरुले हिजोको जनपरिचालन देखे होलान्’


११ मंसिर २०७८, शनिबार
KPolibandasatra1 20211127120246

चितवन, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू जालझेलपूर्ण षड्यन्त्रका कारण प्रतिपक्षमा आइपुगेको बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दैै उनले एमाले जालझेलपूर्ण षडयन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा आइपुगेको आरोप लगाए । ओलीले अहिलेको सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताए ।

देशको न्यायपालिका असफल हुँदा राज्य प्रणाली र लोकतान्त्रिक प्रणाली नै असफल हुने बताए । शक्ति पृथकीकरणको सिद्धान्तमा खलल आए देशको न्याय प्रणाली ध्वस्त हुने उनको चेतावनी छ । शुक्रबारबाट शुरु भएको महाधिवेशनले जनपरिचालन गर्ने र एमाले सिद्धियो भन्नेहरूको सपना आंशिक रुपमा भङ्ग गरिदिएको बताए ।

राजनीतिमा देखिएका विकृति, विसंगति र पदभ्रष्टतालाई सही ठाउँमा ल्याउनका लागि एमालेले सही नेतृत्व चयन गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए । उनले विदेशबाट नेकपा एमालेलाई महाधिवेशनको शुभकामना दिन आउने सम्पूर्ण विदेशी पाहुनाहरुलाई धन्यवाद दिँदै आउन नपाए पनि भिडियो र शुभकामना सन्देश पठाउनेहरुप्रति आभार व्यक्त गरेका छन् ।

‘एमाले सिद्धियो भन्नेहरुले हिजोको जनपरिचालन देखे होलान्’
अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जनसागर उतारेर विरोधीहरुलाई देखाई दिएको बताएका छन् । एमालेको शनिबारदेखि चितवनको सौराहामा शुरू महाधिवेशन अन्तर्गतको बन्द सत्रलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन् ।

‘हाम्रो भूमिमा प्रतिपक्षमा गएपछि नयाँ परिस्थितिमा विधान महाधिवेशन गरेर नीति कार्यक्रम बनायौं । एकता र उत्साहपूर्ण वातावरणमा त्यो काम पूरा गर्‍यौं’, उनले भने, ‘हामीले दुईटा काम गर्नु थियो । एउटा जनपरिचालन, अर्को एमाले सिद्धियो भन्नेहरुलाई सन्देश ! हामीले त्यो जवाफ हिजो दिएका छौं ।’

उनले बन्द सत्रमा विधान महाधिवेशनले पारित गरेका नीतिका आधारमा नेतृत्व चयन गर्ने पनि बताए । ‘अनुशासित र एकतावद्ध पार्टी बनाएर राजनीतिलाई सु–बाटोमा ल्याउनु पर्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७