काँग्रेस महाधिवेशन तयारी तीव्र


१२ मंसिर २०७८, आईतवार
Congress

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो ।

महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्नका लागि प्रधानमन्त्री समेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो ।

गृहमन्त्री एवम् महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाँणले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीपङ्क्ति खटिएको जानकारी दिए । उनले भने, ‘काँग्रेसका लागि यो एउटा उत्सव हो । देशभर १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । उहाँहरूको भोजन तथा आवासको व्यवस्थापन आयोजक समितिले गर्छ । यसका लागि सबै तयारी भइरहेको छ ।’

खाँणले महाधिवेशन प्रतिनिधिसँगै ७७ वटै जिल्लाबाट आउने पार्टी कार्यकर्ताको चापलाई व्यवस्थापन गर्न र आवश्यकताअनुसार सबै पूर्वाधार तयार गर्नकै लागि उपसमिति गठन गरिएको उल्लेख गरे । उनले भने, ‘सम्बन्धित उपसमितिले आवश्यक तयारी सुरु गरिसकेका छन् ।’
महाधिवेशन तयारी मूल समितिले कोरोना प्रकोपलाई दृष्टिगत गरी सुरक्षा मापदण्ड पालना गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाँणले भने, ‘भीड जम्मा गर्न हुन्न । कुनै कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ । त्यसैले आमन्त्रित र पार्टी कार्यकर्तालाई उत्साहित बनाउन प्रेरित गर्नेगरी सन्तुलन कायम गरिनेछ ।’

काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले महाधिवेशनका क्रममा सर्वसाधारणलाई हुन सक्ने असुविधालाई ध्यान दिइने बताइन् । महाधिवेशनका गतिविधिलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्नेदेखि कार्यक्रम आयोजना हुने स्थान चुस्त बनाउनका लागि उपसमितिमार्फत काम भइरहेको उनले बताइन् । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशन उद्घाटनपूर्व र महाधिवेशन पूर्ण रूपमा सम्पन्न नभएसम्मका गतिविधिलाई व्यवस्थित गर्न मूल समितिको ध्यान केन्द्रित भएको बताइन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७