कोभिडको खतरनाक ‘ओमिक्रोन भेरिएन्ट’ : छिमेकी भारतमा कडाइ, नेपाल अझै मौन


१२ मंसिर २०७८, आईतवार
corona virus omicron PbnZ9rYrJz

काठमाडौं, १२ मंसिर । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् । मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताए ।

भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ । छेउकै छिमेकी भारतले पनि कडा मापदण्ड लागू गरिसकेको छ । तर नेपालले अझै यसमा सजगता अपनाएको छैन । स्वास्थ्य विज्ञले नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकबाट आएका वा शंकास्पद व्यक्तिलाई अनिवार्य १५ दिन क्वारेन्टिनमा राख्न सुझाव दिए पनि यस विषयमा सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन ।

दक्षिण अफ्रिकामा गत मंगलबार कोरोनाको नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पत्ता लागेको हो । जसलाई वैज्ञानिकले ‘ओमिक्रोन’ नाम दिएका छन् । यो नयाँ भेरिएन्ट डेल्टाभन्दा बढी खतरनाक रहेको विज्ञले बताएका छन् । नयाँ भेरिएन्टको संक्रमण दर अत्यन्त तीव्र हुने बताउँदै वैज्ञानिकहरूले यसविरुद्ध अहिले लगाइरहेका खोपले काम नगर्न सक्ने शंका समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७