तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य माग्दै ओली बसेकै रिपोर्ट पुग्यो बादल समूह

ओली बसेको पार्क सफारी रिसोेर्टमा आकांक्षीको भीड


१२ मंसिर २०७८, आईतवार
purba mao

चितवन, १२ मंसिर । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुले पनि पार्टीमा आफूहरुले सम्मानजनक भाग पाउनु पर्ने माग अघि सारेका छन् ।

उनीहरुले एमालेको पदाधिकारी र केन्द्रीय सदस्य पदमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखेका हुन् । पूर्व माओवादीबाट एमाले प्रवेश गरेका एक नेताले यसबारे केपी शर्मा ओलीसँग छलफल भइरहेको जानकारी दिए । पूर्व माओवादी नेताहरुले एमालेले वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष, सचिव, उपमहासचिव पद पूर्व माओवादी नेताहरुलाई दिनुपर्ने माग राखेका छन् । यस्तै पूर्व माओवादी नेताहरुले केन्द्रीय सदस्यमा ३५ जना राखिनु पर्ने निष्कर्ष निकालेका छन् ।

पूर्व माओवादी नेताहरु राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र मणि थापालगायतलाई पदाधिकारीमा ल्याउनु पर्नेमा जोड दिएका छन् । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत चितवनको सौराहामा बन्द सत्र जारी छ । महाधिवेशनको उद्घाटन सत्र मंसिर १० गते नारायणगढ स्थित नारायणी नदी किनारमा भएको थियो ।

ओली बसेकै होटलमा पूर्व माओवादीका ती नेता पुगेका छन् । ‘हाम्रो समूहको शीर्ष नेतृत्व अहिले ओलीसँग छलफलमा हुनुहुन्छ,’ बादल समूहमा रहेका केन्द्रीय सदस्य नविन रोका मगरले भने । सहमतिमै नेतृत्व चयन गर्ने भनिएता पनि पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै आकांक्षी भएपछि एमालेमा नेतृत्व चयनमा सकस भएको छ । केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउन ओली सहमतिको प्रयास भइरहेपनि नेता भीम रावलले पनि अक्ष्यक्षमा आफ्नो उम्मेदवारी अघि सारेपछि निर्वाचन गर्ने कि सहमतिका लागि थप छलफल गर्ने भन्ने अन्योल भएको एमालेका एक नेताले जानकारी दिए । निर्वाचन कार्यक्रम पनि अझै सार्वजनिक हुन सकेको छैन ।
ओली बसेको पार्क सफारी रिसोेर्टमा आकांक्षीको भीड
नेकपा एमालेको जारी १० औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसनले अध्यक्ष केपी शर्मा ओली बसेको होटल पार्क सफारी रिसोर्टभित्र र बाहिर चहलपहल बढेको छ । अध्यक्ष ओलीलाई भेट्न नेताहरु होटल भित्रने क्रम चलिरहेको छ ।

आइतबार मध्यान्ह १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्व माओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र सुरु हुनुअघि नै उनीहरूले आफ्नो पक्षका माग लिएर छलफलका लागि गएका हुन् । यसअघि ओली निकट नेताहरूले पनि ओलीसँग आइतबार बिहानै छलफल गरिसकेका छन् । विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरूले ओलीसँग भेटेर आफ्नो अडान राख्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७