देश विकासको लागि काँग्रेस र कम्युनिष्ट दुई पार्टी मात्र हुनपर्छ : रक्षामन्त्री


प्रकाशित मिति : October 14, 2017

काठमाडौँ : रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई सम्पन्न बनाउनका लागि काँग्रेस र कम्युनिष्ट दुई राजनीतिक पार्टी मात्र हुनपर्ने बताएका छन् ।


नागरिक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री प्रधानले न्यूनतम राजनीतिक विचार तथा कार्यक्रममा सहमति हुने पार्टीबीच एकता भएर देशमा दुई पार्टी मात्र हुनुपर्ने बताएका हुन् । उनले देशमा अस्थिरता अन्त्यका निम्ति क्षेत्रीय, जातीय र अन्य पार्टीबीच एकीकरण हुनुपर्ने बताए ।
यस्तै उनले नेपालका कम्युनिष्टबीचको एकताले काँग्रेसलाई कुनै असर नगर्ने विचार व्यक्त गर्दै मन्त्री प्रधानले राणा शासनदेखि राजासम्मलाई फाल्ने काँग्रेस कम्युनिष्ट गठबन्धनसँग नडराउने बताए ।
संसदीय निर्वाचनमा आफूले क्षेत्र नं ६ बाट नै चुनाव लड्ने बताउँदै उनले भने, ‘या क्षेत्रमा मेरो निकै ठूलो योगदान र लगानी छ, त्यसेले यो क्षेत्रबाट म चुनाव लड्दै छु ।’
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले स्थानीय निकायमा कर्मचारीको अभावमा जनताका काम गर्न निकै कठिन भएको बताउँदै नगरपालिकामा योजना, प्रशासन फाँट नै छैन, कार्यकारी र केही कर्मचारीले सबै कुरा एकैपटक गर्नुपर्दामा काममा ढिलाइ भइरहेकाले आवश्यक कर्मचारीको माग गरे ।
कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँ, नागरिक सरोकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारीलगायतले मुलुकमा दलहरुबीच सहकार्य र समन्वयको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्