चम्किँदै इन्जिनियर दुवालको ‘इको प्यानल’ उद्योग


१३ मंसिर २०७८, सोमबार

काठमाडौं, १३ मंसिर । भक्तपुरको रैथाने नेवार समुदायमा जन्मिएका कृष्णभक्त दुवालको पुख्यौली पेसा इँटा उद्योग हो । उनले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा नविकरणीय उर्जा विषय पढे । रिन्युअल इनर्जी इन्जिनियरिङमा स्नातकोत्तर गरेका दुवालले इँटा उद्योगको प्रदुषणको असर देखे(भोगेपछि पुख्यौली पेसाको विकल्पको खोजी गर्न थाले ।

विल्कपको खोजी गर्दै दौडिएका इन्जिनियर दुवालको यात्रा अहिले ‘इको प्यानल’ उद्योगमा आइपुगेर अडिएको छ । व्यावसायिक तथा निजी प्रयोजनका घर निर्माणमा भरपर्दो वाल निर्माणमा परिचित इको प्यानल नेपाल अहिले ब्राण्ड स्थापित गर्दै आक्रामक बजार विस्तारमा छ ।

‘घरका वाल बनाउने धेरै विकल्पहरु छन् । ढुँगा, ब्लक र इँटा हालसम्म प्रचलनमा रहेका वस्तु हुन् । यी बाहेक अर्को विकल्पका रुपमा इको प्यानल नेपाल आएको छ’, उद्योगी इन्जिनियर दुवालले भने । उनले इञ्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेपछि करिब चार वर्ष देश–विदेशमा अध्ययन–अनुसन्धान गरी इँटाको विकल्प खोज्ने क्रममा प्रि–फ्याब फेला पारे ।

त्यसका लागि उनले चीन, इटाली, जापान र बहराइन, जर्मन लगायतका आधा दर्जन देशको दौडाहा नै गरे । त्यही क्रममा चीनमा उनले इँटाको विकल्पका रुपमा यस्ता प्रि–फ्याब हुनसक्ने तथ्य फेला पारे र अहिले नेपालमा इको प्यानल नेपाल उद्योग सञ्चालन गरी उत्पादनलाई देशभर पुर्‍याउन कम्मर कसेर लागेका छन् ।

भूकम्पले देखाइ दिएको भविष्य
२०७२ बैसाख १२ को गोर्खा भूकम्पले नेपालमा ठूलो धनजनको क्षति गरायो । भूकम्पछिको सुस्त पुननिर्माणले इन्जिनियर दुवालालाई के गर्न सके पुनर्निर्माणको कामले गति लिन सक्ला भनेर घोत्ल्यायो । निर्माण सामग्रीहरु ढुङ्गा, इँटा, बालुवा, गिटी र काठ लगायतको अभाव, ढुवानीको असहजतालगायतका कारण भूकम्पपछिको पुन निर्माणमा ढिलाइ भइरहेको निष्कर्ष निकालेका इन्जिनियर दुवालसहितको साझेदारीमा ‘गोर्खा इको प्यानल’ नामाकरणसहित एउटा उद्योग जन्मियो । यसमा दुवाल प्रमुख कार्यकारी अधिकृतसँगै लगानीकर्ता समेत बने ।

तर अहिले उनी गोर्खा इको प्यानलमा छैनन् । उनी अहिले आफ्नै इको प्यानल नेपाल उद्योग हाँकिरहेका छन् । चाँंगुनारायण नगरपालिका झौखेलस्थित १० रोपनी जमिन लिजमा लिई स्थापित उद्योगबाट यसअघि नै सामान उत्पादन गर्ने योजना राखिएको थियो । तर, कोरोना भाइरस महामारीका कारण देश ‘लकडाउन’ को अवस्थामा पुगेपछि केही ढिला भएको दुवालले सुनाए । साझेदारी हुँदै एकल लगानीको उद्योग खोलेर उत्पादन समेत थालिसकेका इन्जिनियर दुवालले भने, ‘अहिले उत्पादनको काम धमाधम भइरहेको छ । दुई–तीन हप्ताभित्रै बजारमा पुर्‍याउने योजनामा छौं ।’

उद्योगमा झण्डै २० करोड लगानी गरिसकेका दुवाल अहिले उत्पादनलाई उपभोक्तासम्म पु¥याउन ७७ वटै जिल्लामा डिलर विस्तारको काममा जुटेका छन् । अबका पूर्वाधारहरु वातावरणमैत्री रुपमा निर्माण हुनुपर्छ भन्ने मान्यता राख्ने इन्जिनियर दुवाल आफ्नो उद्योगले मासिक ६ करोडसम्मको कारोबार गर्ने बताउँछन् ।

कसरी बन्छ इको प्यानल ?
दुईतिर ४.४ एमएमको क्याल्सियम सिलिकेट बोर्ड राखिन्छ । ‘त्यसभित्र बालुवा, सिमेन्ट र थर्मकोल राखिन्छ । त्यसमा बहराइनबाट ल्याएको केमिकल राखिने इन्जिनियर दुवालले बताए । २४ घण्टा त्यसरी राखेपछि थप २४ दिन घाममा सुकाएपछि इको प्यानल तयार हुने इन्जिनियर दुवालले जानकारी दिए । यसको आकार दुई फिट बाई साढे सात फिटको हुन्छ । मोटाई भने २ इञ्चदेखि ९ इञ्चसम्मको हुन्छ । एक पटकमा २५० वटा प्यानल बनाउन सकिने उनले बताए । जसलाई चलनचल्तीको भाषामा ‘एरेटेड प्यानल’ पनि भनिन्छ ।

इँटा र ब्लक भन्दा कति फरक ?
ब्लकलाई वेट वाल (भिजेको भित्ता) भनिन्छ । ब्लक लगाउँदा पानीको उपयोग हुन्छ । इको प्यानल नेपाल भने ‘ड्राई वाल’ हो । यो लगाउँदा पानी प्रयोग गर्नु पर्दैन । यसको ब्लक र इँटाको भन्दा घनत्व पनि कम हुन्छ । यसको घनत्व ६५० किलो प्रतिक्युबिक मिटर हुन्छ । जबकी इँटा वा ब्लकको कुरा गर्ने हो भने १,८०० किलो प्रतिक्युबिक मिटरको घनत्व हुन्छ ।

१० फिट बाइ १० फिटको वालमा ४ इञ्जको वाल लगाउँदा ६ सय इँटा लाग्छ, एउटा इँटाको तौल २ किलो भयो भने १२ सय किलो इँटाको तौल हुन्छ । बालुवा र इँटा थप्दा १६–१७ सय किलोको वाल बन्छ । तर २ इञ्चको इको प्यानल लगाउने हो भने एक स्क्वायर फिटमा जम्मा ३ किलोको प्यानल हुन्छ । त्यसरी हेर्दा १७ सय किलोको तौल लाग्ने वालमा इको प्यानल नेपाल लगाइयो भने जम्मा तौल ३ सय किलोमिटर मात्रै लाग्छ ।

इको प्यानल भनेको बाहिरी तथा भित्री पार्टेसन वालका रूपमा प्रयोग हुने निर्माण सामग्री हो । निर्माण सामग्रीको दुनियाँमा पछिल्ला वर्षहरूमा विभिन्न नयाँनयाँ निर्माण सामग्रीहरू उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इँटाको विकल्पमा भित्री तथा बहिरी पार्टेसन वालको रूपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता बढ्दो छ ।

‘भूकम्प आईहाल्यो भने इँटा वा ब्लक लगाउनेहरुलाई १७ सय किलोको वालले थिच्ने भो भने इको प्यानल लगाउनेलाई जम्मा ३ सय देखि साढे ३ सय किलोको वालले मात्रै थिच्छ । अर्थात भूकम्पको जोखिम पनि कम हुन्छ’, इको प्यानल प्रयोग गर्दाको फाइदाबारे दुवालले सुनाए । उनले घर निर्माणको सामग्री इँटा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदा भन्दा इको प्यानल पुर्‍याउँदा ढुवानीमा सहजताका साथै भाडा समेत निकै कम लाग्ने बताए ।

चीनले सिकाएको पाठ
‘चीन घुम्न जाँदा त्यहाँ यहि प्रकृतिका उद्योगहरु देखें । चिनियाँहरुको निष्कर्ष रहेछ–यदि सबै चिनियाँहरुलाई इँटाको घर बनाउन दिने हो भने चीनको एक तिहाई मलिलो माटो नासिने रहेछ । त्यस कारण उनीहरु यस्तै उत्पादनको विकल्प खोज्दा इको प्यानल बनाएका रहेछन्’, उनले भने । ढुवानी सहज, भूकम्प प्रतिरोधी र ध्वनी शोषणलगायतका धेरै फाइदा देखेपछि त्यहिंबाट नेपालका लागि पनि इको प्यानल उपयुक्त हुने निष्कर्ष इन्जिनियर दुवालले निकाले ।

रोजगारी र अनुसन्धानको थलो बन्दै ‘इको प्यानल नेपाल’

साधारणतया उद्योगपतिले आफनो उद्योग स्थापनाको उद्देश्य नाफामा केन्द्रित गर्छन् । तर, पढाइलाई व्यवसायसँग जोड्न सके मात्र सफलता हात पार्न सकिने मान्यता राख्ने इन्जिनियर दुवालको इको प्यानल नेपाल नाफा सँगसँगै अनुसन्धान केन्द्रको रुपमा विकास भइरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलस्थित इको प्यानल नेपालले विषयसँग सम्वन्धित विद्यार्थी तथा अन्यलाई अनुसन्धान गर्न दिने केन्द्रका रुपमा विकास गर्ने योजना अगाडि बढाइरहेको दुवालले बताए ।

भर्खरै मात्र सञ्चालनमा आएको उद्योगले शुरुदेखि नै अनुसन्धानका लागि ठाउँ दिइरहेको छ । उद्योगमा काठमाडौं विश्वविद्यालयका तीन जना विद्यार्थीले अहिले इन्टर्नशिप गरिरहेको दुवालले बताए । विश्वविद्यालयमा वीई केमिकल इन्जिनियरिङ्ग चौथौ वर्ष अध्ययनरत तीन विद्यार्थीहरु रसहरल ध्वजू, रोजिश प्रजापति र उर्गेन तामाङले दुई महिने इन्टर्नशिप गरिरहेका छन् । विश्वविद्यालयको केमिकल साइन्स एण्ड इन्जिनियरिङ्ग डिपार्टमेन्ट अन्तर्गतका उनीहरुले आफनो पाठ्यक्रम अनुसार त्यहाँ इन्टर्नशिप गरिरहेका हुन् ।

इको प्यानल पाँच प्राविधिक र २५ जनाको हाराहारीमा कर्मचारी र कामदार रहेका छन् । प्यानल जडानका लागि १५ जना दक्ष कामदार छन् । आफ्नो उद्योगका केहि कर्मचारीले अहिले ४० हजार रुपैंयाँसम्म पारिश्रमिक बुझिरहेको जानकारी दिंदै उद्योगी दुवालले भने, ‘इको प्यानलले दक्षता अनुसार रोजगारीको अवसर पनि सिर्जना गरेको छ । यो थप बढ्दै जान्छ ।’

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्योगलाई अनुसन्धान केन्द्रको रुपमा पनि विकास गरी लैजाने योजनाका साथ विद्यार्थीलाई ठाउँ दिएको बताए । चीनको उहान युनिभर्सिटी अफ टेक्नोलोजीमा रिसोर्सेस एण्ड इनभारामेन्टल साइन्समा पीएचडीरत दुवालले अनुसन्धानको महत्व ठूलो रहेकाले आफूहरुले उद्योलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ शुरुवात गरेको सुनाए ।

‘अनुसन्धानले नयाँ तथ्य फेला पर्छ र यो सम्पूर्ण विश्वका लागि नै उपयोगी हुन्छ’, दुवाल भन्छन्, ‘यस कारण हामीले सामाजिक उतरदायित्वलाई पनि ध्यान दिँदै उद्योगलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजनालाई पनि विशेष प्राथमिकता दिएका हौं ।’

उद्योगमा इन्टर्नशिप गरिरहेका विद्यार्थीमध्येका एक उर्गेन तामाङले पाठयक्रम र पाठयपुस्कत अनुसार उद्योगमा प्रत्यक्ष अध्ययनअनुसन्धान गर्न पाउँदा सिक्ने मौका फराकिलो भएको बताए । यसले आफूहरुको ज्ञान आर्जनमा फराकिलो मात्रै नभई आफूले पाएको ज्ञान देश र समाजको हितमा प्रयोग गर्ने भएकाले सबैका लागि हित हुने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग डिपार्टमेन्ट अफ केमिकल साइन्स एण्ड इन्जिनियरिङ्ग धुलिखेल काभ्रेपलान्चोकका हेड एण्ड एसोसियट प्रोफेसर डा. राजेन्द्र जोशीले विद्यार्थीको ज्ञान आर्जनलाई फराकिलो बनाउन समय–समयमा विभिन्न इन्डष्ट्रिज कर्पाेरेशनहरुमा इन्टर्नशिपका लागि पठाउने गरेको बताए ।

कास्की रुपाकोटमा सेरामिक्स उद्योग
इन्जिनियर कृष्णक्त दुवालले निर्माण सामग्री उत्पादनलाई आफ्नो गृहथलो भक्तपुरमा मात्र सीमित गरेका छैनन् । उनले कास्की रुपाकोटको कोल्याङ गाउँमा ‘सेरामिक्स’ उद्योग समेत खोलेका छन् । उद्योगले जर्मन प्रविधिमा निर्माण हुने विभिन्न खालका बढी मूल्यका इँटाहरु निर्माण गरिरहेका छन् । यस उद्योगबाट चाइनिज र विभिन्न बुट्टादार इँटाहरु उत्पादन हुने गर्छ । जुन, घर मन्दिरदेखि पार्कहरुमा समेत प्रयोग हुने गर्छ ।

उद्योगसँगै अध्यापनमा दुवाल
भक्तपुर–१० महालक्ष्मीस्थान घर भएका ४० वर्षीय इन्जिनियर दुवालको दौड उद्योग सञ्चालन र पैसा कमाउनेमा मात्र केन्द्रित छैन । उनी उद्योग सञ्चालन बाहेकको समय प्राध्यापनमा समेत दिन्छन् । दुवाल नेपाल इन्जिनियरिङ्ग कलेज चाँगुनारायणका उपप्राध्यापक समेत हुन् । यस्तै उनले खोप कलेजमा समेत वातावरण विज्ञान विषय पढाउँछन् ।

विहान ८ बजेदेखि ३ बजेसम्म अध्यापनलाई समय दिने दुवाल त्यसपछिको सबै समय कर्मचारी, उद्योग र उत्पादनको बजारीकरणका लागि दिन्छन् । शुक्रबार र शनिबारको धेरैजसो विदा आफ्नो काठमाडौं उपत्यका बाहिरका कार्यक्रमहरुमा बित्ने गरेको दुवाल बताउँछन् । उनलाई उपत्यका बाहिरबाट उद्योग सञ्चालन, उत्पादन र बजारलगायतका विषयमा प्रशिक्षणका लागि निम्तोहरु आउने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७