चीनमा उपचाररत माओवादी नेता पुनको स्वास्थ्यमा देखिंदै सुधार


१३ मंसिर २०७८, सोमबार
barshaman puna china ZdO6tSBrPe

काठमाडौं, १३ मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिन थालेको छ । गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार शुरु गरिएको थियो ।

उपचार शुरु गरेको चौथो दिनमा नै पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेत्री पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । पुनको उपचारमा ३ दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परिक्षण अनुसार पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन) को मात्रा समेत घटेर १८ मा झरेको छ । यस अघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो ।

बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरिर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निने जस्ता समस्या सुधार भएको छ । उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएको नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईले जानकारी दिए ।

‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन, खान खान, सबैसँग कुरा गर्न थाल्नु भयो । अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरा मुक्त भएको र छिट्टै नेपाल फर्कनु हुन्छ भनेका रहेछन्’, चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ । दिशामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो ।’

बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो । यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गंभिर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएपनि सन्चो भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७