लालबाबु पण्डितद्वारा एमालेको केन्द्रीय सदस्य पद अस्वीकार

‘प्रतिनिधिसभा सदस्य पद पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु’


१३ मंसिर २०७८, सोमबार
lalbabu pandit

चितवन, १३ मंसिर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमालेको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । उनले अब पार्टीको सामान्य संगठित सदस्य मात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफारिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन् ।

‘मैले केन्द्रीय सदस्य पद त्यागिदिएँ अब संगठित सदस्य मात्र भएर बस्छु’, प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले नेता पण्डितले भने,’ ‘त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’ एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्य समेत त्यागेर संगठित सदस्य मात्रै रहने घोषणा गरेका हुन् ।

मोरङमा डा. शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् । सामान्य प्रशासनमन्त्री हुँदा डीभी भर्ने कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका पण्डित एमालेका लोकप्रिय नेतामध्ये एक मानिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७