राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा


१३ मंसिर २०७८, सोमबार
kamal thapa 3

काठमाडौं, १३ मंसिर । राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने संकल्प गर्दै थापाले उम्मेदवारी घोषणा गरेका हुन् ।

२०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलो पटक मंसिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनु पर्छ । यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ ।’

थापाले आफ्नो ३० वर्षे राजनीतिक यात्रामा यसभन्दा अघि पार्टीभित्र कहिले पनि भोट नमागेको र उम्मेदवारी पनि नदिएको स्मरण गरेका छन् । उनले भने, ‘उम्मेदवारी नदिँदा पनि देशभरका साथीहरूबाट अत्यधिक बहुमत प्राप्त गरें । तर आज उम्मेदवारी घोषणा गर्ने र भोट पनि माग्नुपर्ने अवस्था आयो । यो परिस्थितिजन्य बाध्यता हो । मैले केही असहज महसुस पनि गरिरहेको छु ।’

अर्का अध्यक्ष पशुपति शमशेर राणाले अध्यक्ष पदमा उम्मेदवारी नदिने र प्रकाशचन्द्र लोहनीले पनि पार्टी एकतामा जोड दिएका कारण महाधिवेशनमा सहमति मै नेतृत्व चयन गर्ने आशा व्यक्त गरे । उनले संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रम लोकेन्द्रबहादुर चन्द, दिवङ्गत नेता राजेश्वर देवकोटा, पद्मसुन्दर लावती लगायतलाई सम्झिएका थिए । थापाअघि राजेन्द्र लिङदेनले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७