उम्मेदवारको नामावलीमै त्रुटि देखियो : भीम रावल

‘निर्वाचन आचारसंहिता विपरीत कामकोे विरोध गर्दा ओली पक्षबाट हामीहरुमाथि जाइलागियो’


१४ मंसिर २०७८, मंगलवार
bhim rawal

चितवन, १४ मंसिर । नेकपा एमालेका नेता भीम रावलले उम्मेदवारको नामावलीमा त्रुटि देखिएको बताएका छन् । चितवनमा जारी दशौं महाधिवेशनको मतदानका लागि तयार गरिएको उम्मेदवारको सूचीमा त्रुटि रहेको उनले बताएका हुन् ।

‘पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरुको उम्मेदवारी सदस्यमा पनि स्वतः रहेको देखिएको छ’, अध्यक्षका उम्मेदवार भीम रावलले भने, ‘म अध्यक्षको उम्मेदवार हुँ । तर, मैले सदस्यमा पनि उम्मेदवारी दिएको सूचीमा छ । यो गलत हो ।’ सदस्यता नवीकरण, वितरण र प्रतिनिधि चयनमा व्यापकरुपमा गलत काम भएको उनले आरोप लगाएका छन् । यद्यपि, आफूले मत परिणामलाई सहज रुपमा लिने उनले बताए ।

Capture 12

प्रतिस्पर्धा गर्न पाउने अधिकार आफूले पार्टीमा स्थापित गरेको रावलले बताएका छन् । सर्वम्मत गर्ने निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको चाहना थियो । तर, उनले मतदानबाट नेतृत्वमा पुग्ने र चयन गर्ने अधिकार कुण्ठित गर्न नहुने भन्दै आवाज उठाएपछि मतदान शुरु भएको हो ।

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलले प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् । उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’, उनले ट्वीटरमा लेखेका’, उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’ केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि विवाद भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७