त्रिभुवन विमानस्थलबाट २१ किलो सुन बरामद


१४ मंसिर २०७८, मंगलवार
gold

काठमाडौं, १४ मंसिर । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट एकै दिन २१ किलो सुन बरामद भएको छ । विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका हुन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भएको विमानस्थल भन्सार कर्मचारीले जानकारी दिएका छन् ।

काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४१५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । उनले भने, ‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौं, १९५ जनाले राजस्व तिरेर आफ्नो सुन लैजानु भएको छ ।’

यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिए पनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए । ५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारहरूलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘धेरै यात्रुले अरूको सुन बोकेर आउँदा रहेछन् त्यो नल्याउनुस् भनेका छौं’ प्रमुख भन्सार प्रशासक भट्टराईले भने, ‘सुनको तार काटेर गोलो बनाएर काँचो सुन ल्याउन पाइँदैन् ।’ विमानस्थल भन्सार कार्यालयले नेपाली स्वरूपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७