फराकिलो मतान्तरले एमाले अध्यक्षमा केपी ओली निर्वाचित

एमाले अध्यक्षमा ३३ जनाले गरेनन् मतदान


१४ मंसिर २०७८, मंगलवार
KP Oli 1

चितवन, १४ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
चितवनको सौराहामा जारी दशौं महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १,८४० मत पाएका छन् । अध्यक्ष प्रतिष्पधी भीम रावलले भने २२३ मत प्राप्त गरेको एमाले नेता राजन भट्टराईले जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत गराएको जानकारीअनुसार ३३ जनाले नो भोट गरेका छन् । अर्थात् उनीहरुले दुवै नेतालाई मतदान गरेका छैनन् ।

ओलीको पक्षमा ८९.४६ प्रतिशत महाधिवेशन प्रतिनिधिले रोजेका छन् । रावलले १०.५४ प्रतिशत मत आफ्नो पक्षमा पार्न सफल भएका छन् । एमाले नेता महेश बस्नेतले ओली फराकिलो मतान्तरसहित विजयी भएको बताएका छन् । निर्वाचन आयोगका अनुसार मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा परिणाम सार्वजनिक गरिने छ ।

ओलीले शुरुमै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेका थिए । तर रावलले अस्वीकार गरेपछि निर्विरोध नभएका पदमा निर्वाचन भएको थियो । रावलको असहमतिपछि सोमबार राति नै मतदान प्रक्रिया अघि बढाइएको थियो । मंगलबार बिहान ४ बजेदेखि शुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २,१५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन ।
एमाले नव निर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७