२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो सतर्कता

नेपालमै पत्ता लगाउन सकिन्छ नयाँ ‘भेरियन्ट’ ?


१५ मंसिर २०७८, बुधबार
corona virus omicron PbnZ9rYrJz

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ । तर नयाँ भेरिन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिँदै आइरहेको छ ।

अहिलेसम्म विश्वका २० देशमा नयाँ भेरियन्टका संक्रमित भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाइएको छ । नयाँ भेरियन्टका संक्रमित अहिलेसम्म सबैभन्दा बढी दक्षिण अफ्रिकामा भेटिएका छन् । हालसम्म सार्वजनिक रिपोर्ट अनुसार दक्षिण अफ्रिकामा ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ ।

दक्षिण अफ्रिकापछि बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ । यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

डब्ल्यूएचओले कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरनाक स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ ।

‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी
सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन् । सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

कसरी पत्ता लगाइन्छ नयाँ भेरियन्ट ?

कुनैपनि भाइसरको परिवर्तित स्वरूप ‘भेरियन्ट’ पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । जिन सिक्वेन्सिङ भाइरसको नयाँ प्रजाति पहिचानका लागि अपनाइने परीक्षण विधि हो । कोभिड–१९ को हकमा एन्टिजेन परीक्षणबाट पोजेटिभ आएका नमुनाको पीसीआर परीक्षण गरिन्छ । पीसीआर परीक्षणको नतिजाले सो नमुनाको जिन सिक्वेन्सिङ गर्ने वा नगर्ने भन्ने निर्धारण गर्दछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेशकुमार गुप्ताकाअनुसार भाइरस म्युटेसन भएमा नमुनाको पीसीआर परीक्षण गर्दा एस जिन नेगेटिभ आउँछ । यसरी एस जिन नेगेटिभ आउनेको संख्या निकै कम हुन्छ । ती नमुनाको मात्रै जिन सिक्वेन्सिङ गरिन्छ । सिक्वेन्सिङ गरिसकेपछि जुनसुकै भेरियन्ट पनि पत्ता लागाउन सकिन्छ ।

नेपालमा नयाँ भेरियन्ट पत्ता लगाउन सकिन्छ ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जिन सिक्वेनसर मेसिन ल्याएको झन्डै आठ महिनापछि गत असोजदेखि जिन सिक्वेन्सिङ परीक्षण सुरु गर्‍यो । कोभिड–१९ का दुईवटा लहरमा एनपीएचएलले त्रि.वि. जैविक प्रविधि केन्द्रीय विभाग र विश्व स्वास्थ्य संगठनको प्रयोगशालासँगको समन्वयमा ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरेको जनाएको थियो ।

भदौ र आसोजमा संकलन गरिएका ती नमुनामध्ये ४१ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो भने वैशाखमा संकलन गरिएको एउटा नमुनामा ‘अल्फा भेरियन्ट’ देखिएको एनपीएचएलले जनाएको छ । तर, पछिल्लो दुई महिनायता एनपीएचएलमा नै जिन सिक्वेन्सिङ भइरहेको एनपीएचएलका प्रवक्तासमेत रहेका गुप्ताले बताए ।

“हामीसँग एकपटकमा ४० देखि ५० वटा नमुनाको जिन सिक्वेन्सिङ गर्नसक्ने क्षमताको मेसिन र जनशक्ति छ । धेरै समय लाग्ने भएपनि हामीसँग विश्व स्वास्थ्य संगठनका विज्ञहरू र अन्य सहयोग पर्याप्त छ । त्यसैले नेपालमा नै नयाँ भेरियन्ट पत्ता लगाउन अब हामी सक्षम छौँ,” उनले भने ।

अहिले अन्तर्राष्ट्रिय विमानस्थल र देशभरका विभिन्न प्रयोगशालाबाट नमुना संकलनको काम भइरहेको छ । तिनमा नयाँ भाइरस भए नभएको पहिचान गर्न परीक्षणपछि ७ देखि १० दिन समय लाग्ने पनि गुप्ताले जानकारी दिए ।

यसअघि यसरी गरिएको थियो नेपालमा नयाँ भेरियन्टको परीक्षण

एनपीएचएलले जिन सिक्वेन्सिङ सुरु गर्नुअघिदेखि नै नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नास्ट, त्रिवि जैविक प्रविधि विभाग र धुलिखेल अस्पतालमा यो विधिको प्रयोग भइरहेको छ । नास्टले किट जातीमा नयाँ संक्रमणको पहिचानका लागि यसको प्रयोग गरेको पाइएको छ । धुलिखेल अस्पतालमा भने पाठेघरको मुखको क्यान्सर, जापनिज इन्सेप्लाइटिस, म्यानेन्जाइटिस् लगायतका संक्रमणको पहिचानका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको अस्पतालका प्रमुख औषधी विज्ञ डा. राजिव श्रेष्ठले बताए ।

नेपालमा पहिलोपटक कोभिड–१९ को नयाँ भेरियन्ट पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका ६ वटा नमुनासमेत धुलिखेल अस्पतालबाट सिक्वेन्सिङ गरिएको थियो । ०७७ माघमा बेलायतबाट नेपाल आएका तीन जना नागरिकमा फरक प्रकारको संक्रमण पाइएको थियो । नयाँ भेरियन्टको आशंका गरिएका उनीहरूको स्वाबको नमुना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । हङकङबाट आएको नतिजामा उनीहरूमा ‘यूके भेरियन्ट’ पुष्टि भएको थियो ।

त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानका लागि ६० वटा नमुनाबाट जिन सिक्वेन्सिङ सुरु गरेको थियो । त्यसयता परिषद्ले निरन्तर काठमाडौं विश्वविद्यालय र निजी प्रयोगशालाहरूमार्फत् जिन सिक्वेन्सिङ गरिरहेको छ । भदौसम्म १०० वटा नमुना काठमाडौं विश्वविद्यालयको प्रयोगशालाबाट र एक हजार ५०० वटा नमुना अन्य विविभन्न प्रयोगशालाहरूबाट परीक्षण गरिएको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७