राप्रपाको एकता महाधिवेशन शुरु, तीन अध्यक्षले गरे उद्घाटन


१५ मंसिर २०७८, बुधबार
r

काठमाललितपुर, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन शुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन शुरु भएको हो ।

राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन शुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरू पनि आउने आयोजकले जनाएको छ ।

महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । निर्वाचनबाट चुनिने १४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहने छन् । महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ ।

महाधिवेशनमा ४,५६० प्रतिनिधिको सहभागिता रहने राप्रपाले जनाएको छ । संघीय संरचनाअनुसार गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशबाट छनोट भएका प्रतिनिधि महाधिवेशनमा आउने छन् । ३३० प्रदेश निर्वाचन क्षेत्रबाट मात्रै २ हजार ९ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रधानले जानकारी दिए । एउटा प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जना प्रतिनिधि हुनेछन् । यस बाहेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अध्यक्षहरू पनि प्रतिनिधिको रूपमा आउने छन् । तीन दिनसम्म चल्ने महाविधेशनको पहिलो दिन उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र गर्ने तालिका छ ।

निर्वाचनको प्रक्रिया भने बिहीबारबाट मात्रै शुरु हुनेछ । मतदाताको नामावली बुधबार नै महाधिवेशन स्थलमा टाँस्ने व्यवस्था मिलाइने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । बन्द सत्रमा अध्यक्ष थापाले राजनीतिक, पशुपतिशमशेर जबराले सामाजिक र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नेछन् ।

त्यस्तै विधान संशोधन सुझाव समितिका संयोजक नीरञ्जन थापाले कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गरिएको विधान संशोधनको मस्यौदा बन्द सत्रमा पेस गर्नेछन् । ‘पहिलो दिन विधान संशोधन गरेर बिहीबारदेखि निर्वाचनको प्रक्रिया शुरु हुन्छ,’ महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७