राजनीतिमा चार प्रवृत्ति हावी छ, त्यसभित्र पनि देशभक्त र विदेशभक्तहरु छन् : सीपी मैनाली

‘राष्ट्रवादीले राजा, देउता, धर्म र कर्म मानेर राजनीति गर्छ’


१५ मंसिर २०७८, बुधबार
CP Mainali

काठमाडौं, १५ मंसिर । नेकपा मालेका महासचिव सीपी मैनालीले राजा, देउवा, धर्म र कर्म मानेर राजनीति गर्ने मात्र राष्ट्रवादी हुने बताएका छन् । आज (बुधबार) देखि शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा सम्बोधन गर्दै महासचिव मैनालीले देशमा चार वटा प्रवृत्ति हावी भएको उल्लेख गर्दै राजा, देउता, धर्म र कर्म मानेर राजनीतिक गर्ने मात्र सच्चा राष्ट्रवादी भएको बताए ।

‘राष्ट्रवादी त्यो हो जसले राजा, देउता, धर्म, कर्म मानेर राजनीतिक गर्छ,’ उनले भने, ‘राष्ट्रवाद राजनीति चार वटा प्रवृत्ति हावी भएको छ, त्यसभित्र देशभक्त र विदेशभक्तहरु पनि छन् ।’ महासचिव मैनालीले विदेशीहरुको हस्तक्षेपलाई राजा महेन्द्रले २०११ सालमा तुहाई दिए पनि २०४६ र २०६३ सालको आन्दोलनले अवान्छित बाह्य हस्तक्षेप भित्र्याएको आरोप लगाए ।

‘२०४६ र २०६३ सालपछि नेपालमा अवान्छित बाह्य हस्तक्षेप भित्रियो,’ उनले थपे, ‘२०४६ सालमा प्रजातन्त्रको बुइ चढेर आएको भारतीय र युरोपेली प्रभाव नेपालमा भित्रियो ।’

राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उनले महेन्द्रले विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको तर्क गरे । ‘नेपाललाई भारतमा गाभ्न रोकेको र नेपाललाई भुटान हुनबाट जोगाउने काम राजा महेन्द्रले गरेका हुन्,’ उनले भने, ‘१० सालमा विधान सभा पास भएको भए नेपाल सिक्किमझैं भारतमा गाभिन्थ्यो ।’

यद्यपि मैनालीले २०१७ साल पुस १ गते गरेको ‘कू’ को भने विरोध गरेका छन् । उनले उक्त ‘कू’ लाई दक्षिणपन्थी राष्ट्रवादको संज्ञा दिए । मैनालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले जनगणतन्त्र ल्याउन नसकेकामा कुनै पनि ग्लानी र पश्चाताप नभएकोमा आश्चर्य व्यक्त गरे । माओवादीले भनेको क्रान्तिपछि देशमा विदेशी हस्तक्षेप झन् धेरै बढेर गएकाले इतिहासको समीक्षा गर्ने बेला भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७