एमालेको निम्तो छलेका प्रचण्ड राप्रपाको कार्यक्रममा : केपी र सीपीमाथि कटाक्ष

‘राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई बधाई’


१५ मंसिर २०७८, बुधबार
prachanda rpp KvTnaFhF2C

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले राप्रपा र आफ्नो पार्टीको विचार र मत नमिल्ने भए पनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् । राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले आफू अघि बोल्ने मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष प्रहार गरेका छन् ।

सीपी मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंसा गरेका थिए भने प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएका थिए । ‘तपाईहरूको र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाई हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनु भयो । पहिला राजतन्त्र सिध्याउनु पर्छ भनेर टाउको काट्ने शुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईहरुको अगाडि महान राजा पनि भन्नु भयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’

उनले आफू धर्मनिरपेक्षवादी भएको र राष्ट्रवादी भएको स्पष्ट गरे । उनले विचारमा मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै संस्कृति र परम्पराको बीचमा निरन्तर बहस हुँदै बहस र मतमतान्तरणको बीचबाट समाजको रुपान्तरण हुने बताए ।
अध्यक्ष प्रचण्डले सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत कटाक्ष गर्न भ्याए । उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् ।

उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए । प्रचण्डले भने, ‘तपाईहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईहरू तीन वटा मिल्नु भयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’
उनले थप, ‘तर, पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौं । त्यस्तो झूटो कुरा चाहिँ तपाईहरुले गर्नु भएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ? तपाईहरुले ठीक गर्नुभयो ।’

नेकपा एमालेको महाधिवेशनको निम्तो छलेका प्रचण्ड राप्रपाको महाधिवेशनमा भने अतिथि बनेर सहभागी बनेका हुन् । उनीसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका छन् । भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिन दुवै नेता पुगेका हुन् । पूर्व राजावादीहरुको महाधिवेशनमा भाग लिन सबैभन्दा पहिले माधव नेपाल पुगे । त्यसपछि प्रचण्ड पनि उद्घाटन सत्रमा सहभागी हुन गएका हुन् । अध्यक्ष प्रचण्ड यसअघि गृह जिल्ला चितवनमा भएको एमालेको दशौं महाधिवेशनमा सहभागी भएनन् । उनलाई निम्ता पठाइए पनि एमाले महाधिवेशनमा सहभागी हुन अस्वीकार गर्दै प्रचण्ड काभ्रे पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७