राप्रपा महाधिवेशनमा गएनन् ओली, माधव–प्रचण्ड निस्केपछि पुगे ईश्वर पोखरेल


१५ मंसिर २०७८, बुधबार
ishwor pokhrel pVDkBSMW4n
फाइल फोटो

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि शुरु एकता महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । चितवनमा मंगलबार सम्पन्न दशौं महाधिवेशनपछि काठमाडौं नआइपुगेकाले उनी भृकुटीमण्डपमा जारी राप्रपा महाधिवेशनमा ओली सहभागी नभएका हुन् ।

तर अध्यक्ष ओलीले नेकपा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई राप्रपा महाधिवेशन कार्यक्रममा पठाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाली कार्यक्रममा सहभागी भएर निस्किसकेपछि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल राप्रपाको कार्यक्रममा पुगेका छन् ।

ओली चितवनमा अहिले साढे ३ बजे मात्रै काठमाडौं आइपुग्ने कार्यक्रम छ । राजावादीहरुको महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएका छन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पनि राप्रपा महाधिवेशनमा अतिथि भएर सम्बोधन गरेका छन् । राप्रपाको निम्तो स्वीकारेका माओवादी अध्यक्ष दाहाल एमालेको महाधिवेशनमा गएका थिएनन् । त्यस्तै एमालेले समाजवादी अध्यक्ष नेपाललाई निम्तो नै गरेको थिएन ।

यस्तोमा ओलीले यी दुई नेतासँग मञ्च शेयर नगर्ने योजनासहित चितवनबाट ढिला गरी काठमाडौं आउन लागेको उनको सचिवालय स्रोतले बतायो । आफ्नो महाधिवेशन बहिष्कार गरेका प्रचण्ड र एमाले फुटाएर नयाँ पार्टी खोलेका नेपालसँग एकै मञ्चमा नउभिने योजनासहित ओली चितवनबाट ढिला गरी काठमाडौं आउन लागेका हुन् । राप्रपाका नेता मोहन श्रेष्ठले महाधिवेशनका लागि साताअघि नै ओलीसहितका नेतालाई निम्ता पठाइएको बताएका छन् ।

राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको पनि बताए ।

राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने पनि बताए ।

अहिले आफ्नो राजनीति संगठनलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा जुटेको चर्चा गर्दै उनले यो अभियानमा आत्मकेन्द्रित भएर मात्र नभइ आर्थिक विकासको अभियानमा क्रियाशील हुन चाहेको बताए । उनले भने, ‘हामी सामाजिक सद्भाव कायम गर्ने, समाजमा देखा परेको अराजकतालाई अन्त्य गर्ने उद्देश्यका खातिर सुदृढ हुन चाहन्छौं ।’ पार्टी अलग अलग भए पनि देश बनाउने, देशको स्वाभिमानको रक्षा गर्ने सवालमा हामी सबै एक हुनुपर्ने उनले बताए । उनले भने, ‘आन्तरिक विषयमा विचार एक नहुन सक्छ, एक ठाउँमा उभिएका नहुन सक्छौं तर हाम्रो गन्तव्य एउटै हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७