कमल थापाको स्वीकारोक्ति : पार्टी विभाजनमा म दोषी छु, आत्मालोचना गर्छु


१५ मंसिर २०७८, बुधबार
kamal

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले चार वर्षअघि पार्टी तीन टुक्रामा विभाजन हुनुमा आफू नैतिक जिम्मेवार भएको बताएका छन् ।

उनले जे कारण भए पनि आफू त्यतातर्फ नजाने भन्दै पार्टी विभाजनमा आफू दोषी भएकाले आत्मालोचना गर्ने बताए । उनले कार्यकर्तामाझ माफी पनि मागेका छन् । ‘२०७३ सालमा पार्टी एकता गरेर एकता महाधिवेशन गर्‍यौं, तर चुनावसम्म पार्टी तीन टुक्रा भयो । यसमा अरू धेरै दोषी होलान् म त्यतातर्फ जाँदिनँ’, बुधबार काठमाडौंमा राप्रपा एकता महाधिवेशनको उद्घाटन समारोहमा उनले भने, ‘म गलत छु, नैतिक जिम्मेवारी म लिन्छु । म आत्मालोचना गर्छु ।’

उनले एकता महाधिवेशन गर्न सफल भएकोमा गर्व लागेको पनि बताए । पार्टी योभन्दा तल र कमजोर हुने ठाउँ नभएको भन्दै उनले अब पार्टी बलियो बन्दै जाने दाबी गरे । सहमति र एकताका साथ नेतृत्व चयन गर्न पनि उनले आग्रह गरे । अब पार्टी कहिल्यै विभाजन नहुने जिकिर समेत गरे ।

अरु राजनीतिक दलहरुको आरोह अवरोह पनि देखेको भन्दै उनले राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावले नलेख्ने बताए । यद्यपि उनले कमजोरी भएको स्वीकार गरे । निर्वाचनको बेला पार्टी फुटेको र कांग्रेससँग इमान्दार सहकार्य नभएको भन्दै थापाले भने, ‘१५६ निर्वाचन क्षेत्रमध्ये ५ वटामा मात्र उम्मेदवार उठाउनु र १६० वटामा उम्मेदवार खडा नगर्नु हाम्रो ठूलो गल्ती थियो । ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २२५ वटामा उम्मेदवार खडा नगर्नु अर्को भूल थियो ।’

यसका बाबुजत राप्रपाले २ लाख राप्रपा संयुक्त र राप्रपा राष्ट्रवादीले भण्डै एक लाख भोट पाएको स्मरण गर्दै उनले भने, ‘दुबै जोड्ने हो भने त्यो प्रतिकूल अवस्थामा पनि झण्डै ३ प्रतिशत भोट पाएका छौं । अहिलेको आवश्यकता भनेको केबल २-४ सिट बढाउने मात्र होइन, राप्रपालाई देशको अग्रणी शक्तिका रुपमा स्थापना गर्ने हो ।’ त्यही सपना बोकेर कयौं सम्झौता र त्याग गरेर फेरि पार्टी एकता गरेको भन्दै उनले भविष्यमा पार्टी कहिल्यै टुक्राउन नदिने कसम आफूहरुले खाएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७