सर्वोच्च अदालतको विवाद गम्भीर : प्रचण्ड

‘सर्वोच्चको समस्या न्यायापालिकाको कुरा मात्र होइन राज्य प्रणालीसँग जोडिएको छ’


१५ मंसिर २०७८, बुधबार
Prachanda 2

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीशलाई लिएर सर्वोच्च अदालतमा जारी विवादले गम्भीर रूप लिएको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै प्रचण्डले सर्वोच्च अदालतमा जारी विवादले गम्भीर रुप लिएको बताएका हुन् ।

प्रधानन्यायाधीशलाई लिएर जारी विवाद राज्य प्रणालीसँग जोडिएको प्रचण्डको भनाइ थियो । ‘स्थिति गम्भीर भएको छ । यो न्यायपालिकाको मात्रै कुरा होइन, यो समग्र हाम्रो राज्य प्रणालीसँग सम्बिन्धत कुरा हो,’ उनले भने, ‘यो पटक यसलाई हामीले सम्बोधन गर्न सकियो भने न्यायपालिकामा त एउटा गुणात्मक सुधारको प्रक्रिया यही बिन्दुबाट शुरु हुनसक्छ । यो एउटा यस्तो बिन्दु हुनसक्छ जहाँबाट न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसंगतिहरूको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढंगले जाने विन्दु यो हुनसक्छ ।’

न्यायाधीश र बारबाट नै उठेको विषय भएकाले न्यायालयको शुद्धीकरणमा वर्तमान विवाद समाधान हुनसक्ने दाहालको भनाइ थियो । उनले न्यायालयको विवाद अन्तर्राष्ट्रियकरण भइसकेको पनि धारणा राखेका थिए । ‘यो हाम्रो देशभित्रको मात्रै पनि कुरा छैन, अब त अन्तर्राष्ट्रिय पनि भइसक्यो । अब नेपालले के गर्छ भन्ने कुरा पुरै दुनियाँले हेरिरहेको छ, न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी लान्छन् त नेपालीले भन्ने कुरा सबैले हेरिराखेकै कुरा छ,’ उनले भने, ‘म यूएन मिसनसँग कुरा गर्दैछु त्यहाँ पनि यसको कुरा उठेका छन् ।’

अदालतमा जारी विवादले धैर्यताको सीमा नाघेको प्रचण्डको भनाइ थियो । उनले सम्बन्धित पक्षलाई गम्भीर रहेको बताएका थिए । ‘हाम्रो एउटा विन्दुसम्म धैर्यता होला, तर हामीले गम्भीर छौं भनिसकेका छौं । यो समस्या समाधानको मात्रै होइन, ठूलो विसंगति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुनसक्छ यो आन्दोलन,’ उनले भने ।

विगतमा न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्धले समस्या उत्पन्न हुँदा न्यायका लागि पूर्व प्रधानन्यायाधीश, पूर्वन्यायाधीश र कानुन व्यवसायीहरूसँग गुहार माग्दै हिँड्नुपरेको अवस्था आएको पूर्व प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ‘कार्यपालिकामा हिजो समस्या भयो र हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि लिएर पूर्व न्यायाधीशहरू, कानुन व्यवसायीहरू, पूर्व प्रधानन्यायधीशहरूसँग हामीले झण्डै–झण्डै गुहार माग्दै हिँडेको जस्तो स्थिति थियो,’ उनले भने । त्यतिबेला न्याय क्षेत्रबाट आफूहरूलाई सहयोग पनि प्राप्त भएको प्रचण्डले बताए । त्यो सहयोग नबिर्सिएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतमा जारी विवादलाई लिएर राजनीतिक दलहरू र कार्यपालिकाले मौनता साँधेको हो कि भन्ने नसोच्न पनि उनले आग्रह गरे । ‘डेढ महिना हुन लागिसक्यो भन्ने तपाईंहरूको भनाइ छ, तपाईंहरूको मर्म पनि बुझिने खालको नै छ । हामी यो विषय तपाईंहरूले जति बेलादेखि उठाएर आन्दोलित हुनुभयो त्यति बेलादेखि नै गठबन्धनभित्र यो छलफल भएको छ । यो अहिले मात्रै रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा मात्रै छलफल भएको त्यो भन्दा पहिला नभएको पनि होइन,’ प्रचण्डले भने । प्रचण्डलेले अहिले सभामुख अग्निप्रसाद सापकोटा मुलुक बाहिर गएको र उनी फर्किए लगत्तै बैठक बसेर न्यायपालिकामा देखिएको समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७