राप्रपा महाधिवेशन : प्रतिनिधि विवादले निर्वाचन कार्यक्रम अनिश्चित


१६ मंसिर २०७८, बिहीबार
rpp 48

काठमाडौं, १६ मंसिर । महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया शनिश्चित बनेको छ । बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ ।

राप्रपाको अध्यक्षमा बर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ । तर बिवाद नमिलेका कारण अझैसम्म कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् । राप्रपाका एक नेताले आज उम्मेदवारी दर्ता गरेर नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाउने भनिएता पनि बिवाद नमिल्दा पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको बताए ।

जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाको निर्देशनमा हेरफेर गरेको आरोप लिङ्देन पक्षका नेताले लगाएका छन् । त्यसको बिवाद समयमै मिलाउन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो । अहिलेसम्म मतदाता नामावली पनि प्रकाशित भएको छैन ।

विवादका कारण निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउन पाएको छैन । अध्यक्ष कमल थापाले एकलौटी रूपमा जिल्लाबाट आएको मतदाता नामावाली हेरफेर गरेको आरोप लिङ्देन पक्षले लगाएको छ । भक्तपुर, सर्लाही, काठमाडौं, पर्वतलगायत जिल्लाबाट आएको सूचीका विषयमा विवाद भएको हो ।

तर, थापा पक्षधर भने डा. प्रकाशचन्द्र लोहनी र प्रदेश नम्बर–२ का नेता रामचन्द्र रायका कारण प्रतिनिधि सहभागितामा लफडा भएको तर्क गर्छन् । ‘जहाँ यी दुईले हस्तक्षेप गरे, त्यहीं विवाद भएको छ । मेरो जिल्लामा त झन् स्थिति डामाडोल बनाइदिएका छन्’, थापा निकट एक नेताले बताए ।

नेता राजाराम श्रेष्ठ भने विवाद समाधानोन्मुख भएकाले आजै निर्वाचन प्रक्रिया शुरु हुन सक्ने बताउँछन् । तल्ला तहबाटै महाधिवेशन प्रतिनिधि चयन गरेर ल्याइएको छ । चार हजार ५०० को हाराहारीमा विभिन्न समुदायबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने विधानको व्यवस्था छ । ३३० प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि चुन्दा केही क्षेत्र खाली छोडिएको थियो । त्यो खाली क्षेत्रमा अध्यक्ष थापाले एकलौटी आफूपक्षीय महाधिवेशन प्रतिनिध चुनेको लिङ्देन पक्षको आरोप छ ।

खाली छोडिएको महाधिवेशन प्रतिनिधिहरूमा महिला, दलित, अल्पसंख्यकलगायत क्लष्टरबाट रहेका छन् । जसमा थापाले आफूखुसी नाम हालेर विवाद सिर्जना गरेको लिङ्देनपक्षीय एक नेताको दाबी छ । सोही विवादका कारण पार्टीको निर्वाचन समितिले मतदाता नामावली तयार गर्न सकेको छैन । मतदाना नामावली नै तयार नहुँदा नयाँ नेतृत्व चयनमा ढिलाइ भएको हो । पार्टीको बन्द सत्र बुधबारदेखि शुरु भए पनि हालसम्म नयाँ नेतृत्व चयन हुनसकेको छैन ।

बन्दसत्रमा भन्दा पनि नेताहरू नेतृत्वको बाँडफाँड र आफ्नो समूहलाई भोट माग्न व्यस्त छन् । शीर्ष नेतृत्व भने महाधिवेशन आफ्नो पक्षमा पार्न लागिपरेका छन् । थापा पक्षीय नेता भुवन पाठक पनि महाधिवेन प्रतिनिधिको विषयमा विवाद रहेको स्वीकार गर्छन् । ‘प्रतिनिधिहरूको विषयमा केही विवाद छन्, त्यसले निकास पाएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुन्छ’, पाठकले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७