थापा–लिङदेनले टुङ्गो लगाए पदाधिकारीमा उम्मेद्वार, कसको प्यानलबाट को–को (सूची)

विक्रम पाण्डे पनि राजेन्द्र लिङ्देनतिर खुले, वरिष्ठ उपाध्यक्षमा उठ्ने


१६ मंसिर २०७८, बिहीबार
kamal rajendra 1638323419

काठमाडौं, १६ मंसिर । राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेद्वारको टुङ्गो लगाएका छन् । चर्चित निर्माण व्यवसायी एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे जारी एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनतिर खुलेका छन् । हालसम्म कता खुल्ने टुङ्गो नभएका उनले अन्तिममा लिङ्देनलाई साथ दिने निर्णय गरेका छन ्। योसँगै लिङ्देन समूह झन् बलियो भएको छ ।

लिङ्देन पक्षले उनलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । पाण्डे खुलेपछि लिङ्देन पक्षले केही बेरअघि आफ्नो पक्षबाट उठ्ने पदाधिकारीका सबै उम्मेदवार टुंगो लगाएको छ । यो समूहबाट अध्यक्षमा लिङ्देन, वरिष्ठ उपाध्यक्षमा पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र महिला उपाध्यक्षमा लीला श्रेष्ठ उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा धवल शमशेर जबरा, श्याम तिमल्सिना र रेखा थापा पनि लिङ्देनकै प्यानलबाट उम्मेदवार बनेका छन् ।

अध्यक्षका अर्का दाबेदार वर्तमान अध्यक्ष कमल थापा पक्षले पनि उम्मेदवारबारे निर्णय गर्न छलफल गरिरहेको छ । यसअघि विक्रम पाण्डेलाई थापा पक्षले वरिष्ठ उपाध्यक्ष बनाउने सूचीमा राखेको थियो ।

लिङ्देन निकट एक नेताका अनुसार पाण्डेसँग भएको छलफलपछि उनले समर्थन गर्न तयार रहेको बताएका हुन् । ‘उहाँले राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउन समर्थन गर्ने निर्णय गर्नुभयो,’ ती नेताले भने, ‘उहाँलाई वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय भइसकेको छ ।’

ती नेताका अनुसार कमल थापामा रहेका थुप्रै नेताहरुको समर्थन राजेन्द्र लिङ्देनलाई प्राप्त भइरहेको छ । बुधबारदेखि सुरु भएको राप्रपाको एकता महाधिवेशनको बन्द सत्र चलिरहेको छ । केही जिल्लामा प्रतिनिधि चयनमा देखिएको विवादका कारण निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छैन । निर्वाचन समिति अहिले छलफलमा छ । बिहीबारै अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ । महाधिवेशनमा देशभरबाट ४६ सय प्रतिनिधि काठमाडौँ आएका छन् ।

बाजागाजासहित प्रचारको होडबाजी
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनस्थल भृकुटीमण्डपमा दुई पक्षबीच प्रचार प्रसारको होडबाजी चलेको छ । अध्यक्षमा प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनका समर्थकबीच बाजागाजा र सांस्कृतिक झाँकीसहित प्रचारको होडबाजी चलेको छ ।

Kamal Thapa1638445126

दुवै समूहका कार्यकर्ताहरु नेवारी झाँकी र नौमत्ती बाजासहित प्रचारमा उत्रिएका छन् । चुनाव प्रचारलाई थापाले भन्दा लिङ्देनले आक्रमक बनाएका छन् । लिङ्देनका भाइ रविन लिङ्देन पनि चुनाव प्रचारमा उत्रिएका छन् । उता कमल थापा पत्नी प्रलिता र भाइ गणेश पनि चुनाव प्रचारमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७