रुस र युक्रेनले दशौं हजार सैनिक सीमामा पठाएपछि बढ्यो युद्धको खतरा


१६ मंसिर २०७८, बिहीबार
russian amy LXwf0BPTgU

काठमाडौं, १६ मंसिर । रुस र युक्रेनले सीमा क्षेत्रमा सेनाको संख्या बढाएपछि पश्चिमा राष्ट्रहरुले युद्धको आंशका व्यक्त गर्न थालेका छन् । रुसले करिब ९० हजार र युक्रेनले एक लाख २५ हजार सैनिक एकअर्काको सीमा क्षेत्रमा पठाएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति बोल्दोमिर जेलेन्स्कीले रुसबाट क्रिमिया फिर्ता लिने प्रतिबद्धता जनाएकै बेला दुई मुलुकबीच तनाव बढेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले आक्रामक चाल चल्ने योजना बनाएको बताएका छन् । नेटो मुलुकका मन्त्रीहरुसँगको बैठकपछि बुधबार लाट्भियाको रिगामा ब्लिन्केनले यस्तो बताएका हुन् ।

‘पुटिनले आक्रमण गर्ने निर्णय लिएका छन् कि छैनन्, त्यो हामीलाई थाहा छैन । तर, हामीलाई के थाहा छ भने त्यस्तो निर्णय लिए भने उनले तुरुन्तै आक्रमण गर्न सक्ने अवस्थामा सेनालाई राखेका छन्,’ ब्लिन्केनले भने । युक्रेनले जनाएअनुसार रुसले उसको सीमामा सैनिकका अलावा बख्तरबन्द गाडी, विद्युतीय युद्ध सामग्री, आदि जम्मा गरेको छ । रुसले गत एक वर्षमा दोस्रो चोटि सेनालाई युक्रेनको सीमामा जम्मा गरेको हो । तर, यसपटक पुटिनको योजना फरक हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

यसअघि गर्मीमा रुसी सेना दिउँसै यात्रा गरेर सीमानजिक आएका र पछि फिर्ता भएका थिए । तर, यसपटक रातिराति सेनालाई सीमामा ल्याइएको बताइएको छ । त्यस्तै, पछिल्लो समय अमेरिकी बमवर्षक विमान बारम्बार आफ्नो सीमानजिक आउन थालेको भन्दै रुसले कडा वक्तव्य दिन थालेको छ । उसले युक्रेन र पश्चिमबीचको निकट सम्बन्धलाई नस्वीकार्ने बताएको छ ।

अमेरिकाले युक्रेनमा क्षेप्यास्त्र तैनाथ गर्ने प्रयास गरिरहँदा पुटिनले मंगलबार मात्रै त्यस्तो नगर्न चेतावनी दिएका छन् । ‘त्यस्तो परिदृष्यमा हामीले के गर्ने? हामीले पनि त्यस्तै हतियार तैनाथ गर्नुपर्ने हुन्छ,’ पुटिनले भनेका थिए । हालै रुसले चीनसँग नयाँ सैन्य सम्झौता समेत गरेको छ ।

‘रुसीहरु आफूले चाहेको गर्नसक्ने स्थितिमा छन्,’ युक्रेनका लागि पूर्व अमेरिकी राजदूत जोन हर्ब्स्ट भन्छन् । रुसी अधिकारीहरुले आक्रमणको योजना नभएको बताएका छन् । तर, पूर्वी युक्रेनमा हिंसाको खतरा कायमै रहेको उनीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७