न्यायाधीशले गोला ताने, मुद्दा हेरेनन्


१७ मंसिर २०७८, शुक्रबार
sarbochha

काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी तोक्न थालिए पनि न्यायाधीशले सुनुवाइ नगर्दा मुद्दा प्रभावित भएका छन् । बुधबारबाट गोला तानेर मुद्दाको पेसी तोक्न थालिए पनि सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुँदा पनि कायममुकायमको जिम्मेवारी नदिएको भन्दै बुधबार र बिहीबार मुद्दामा सुनुवाइ हुन नसकेको हो । जबरा सोमबार बेलुकी कोभिड संक्रमण र निमोनिया देखिएको भन्दै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका छन् ।

उनी अस्पताल भर्ना भए पनि अदालतबाट बिरामी बिदा भने लिएका छैनन् । बिदा नलिँदा प्रधानन्यायाधीशको काम गर्न कायममुकायम जिम्मेवारी नदिइएको भन्दै न्यायाधीश र कानुन व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल बार एसोसिएसनले संविधानमा कायममुकायम दिने व्यवस्था भएको तर जबराले त्यसो नगरेको भन्दै आपत्ति जनाएको छ । न्यायाधीशहरू बुधबार छलफलमा बसेका थिए । त्यसपछि न्यायाधीशहरूले कामु माग्दा प्रधानन्यायाधीशले शुक्रबार डिस्चार्ज भएर कार्यालय फर्किने बताएका थिए ।

सशस्त्र प्रहरी बल अस्पतालका अनुसार प्रधानन्यायाधीश जबरालाई कोभिडका कारण छातीमा इन्फेक्सन भएकाले न्यूनतम १० दिन बस्नुपर्ने नियम रहेको छ । पिसिआर टेस्ट गरी नर्मल अवस्था भएपछि मात्र डिस्चार्ज हुने अस्पतालका प्रवक्ता डिआइजी मन्दिप श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेका न्यायाधीशहरूले गोला प्रक्रियामा गएपछि मुद्दा हेर्ने बताएका थिए । गोला प्रक्रिया लागु भएपछि पनि कामु नदिएको भन्दै उनीहरूले बन्दीबाहेकका मुद्दा हेरेका छैनन् । बिहीबार पनि कामु नदिएको विषयमा छलफल गर्दा ढिलो गरी गोला प्रक्रियाबाट पेसी तोकिएको थियो । १० वटा इजलास तोकेर १९२ वटा मुद्दा पेसीमा चढे पनि बन्दी प्रत्यक्षीकरणका ३ वटा मुद्दामा मात्र सुनुवाइ भयो ।

उता प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलनरत नेपाल बार एसोसिएसनले धर्ना जारी राखेको छ । कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा दिनहुँ एक घण्टा कालोपट्टी बाँधेर धर्ना दिइरहेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७