आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीमा थपिए १२ युवा


१७ मंसिर २०७८, शुक्रबार
mao

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दै छ । पार्टीको राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल गर्न माओवादी केन्द्रले आज (शुक्रबार) पनि स्थायी समिति बैठक बोलाएको हो ।

हिजो पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो । हिजोको बैठकले पार्टीको राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ । आजको बैठकमा पनि सम्मेलन तयारीको विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म राजधानी काठमाडौंमा हुँदैछ । राष्ट्रिय सम्मेलनको तयारी स्वरुप अहिले माओवादीले वडादेखि प्रदेशसम्मका सम्मेलन गरिरहेको छ ।

केन्द्रीय कमिटीमा थपिए १२ युवा
नेकपा (माओवादी केन्द्र) ले १२ जना युवालाई केन्द्रीय कमिटीमा छनोट गरेको छ । बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले १२ जना नेतालाई केन्द्रीय कमिटीमा पदोन्नती गरेको हो । केन्द्रीय कमिटी छनोट हुने अधिकांश युवा छन् ।

Maoist youth leader student

प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल (क्रान्तिकारी)का पूर्वनेताहरू रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी छन् ।

उनीहरूमध्ये ढकाल, न्यौपाने, विष्ट र तामाङ क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् भने बस्नेत, भण्डारी, देवकोटा र गौतम पूर्व उपाध्यक्ष हुन्। अर्का नेता अधिकारी पूर्व महासचिव हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रमा २० प्रतिशत युवा भित्र्याउने नीति अनुसार उनीहरूलाई पार्टी केन्द्रमा लाने घोषणा गत असोजमै गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय प्रतिनिधिमा लगिएका अन्य तीन जना नेतामा नुवाकोटका श्रीकृष्ण अधिकारी , जाजरकोटका गगन खड्का र रुकुम पश्चिमका पारसमणि रहेको जानकारी दिए । यसअघि माओवादी केन्द्रको पार्टी जिल्ला इन्चार्ज रहेका तर केन्द्रीय समितिमा नरहेका नेताहरूलाई पनि पार्टी केन्द्रीय प्रतिनिधिमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७