अवकास पाउँदा प्रहरीमा एसपीसम्मको स्वतः एक तह बढुवा


१७ मंसिर २०७८, शुक्रबार
Nepal police

काठमाडौं, १७ मंसिर । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतको अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो ।

अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाशमा पाउँदा उनीहरुले बढुवा पाउने छन् । यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ । प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था छ । यसले प्रहरी कर्मचारीको मनोबल बढाउन मद्दत गर्ने भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले निर्णयार्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर भन्छन्, ‘मन्त्रिपरिषद्बाट निर्णय भएको सुनेको छु, विस्तृत विवरण आइसकेको छैन । तर यो निर्णय प्रहरीका तल्लो तहका कर्मचारीका लागि ऐतिहासिक हो ।’ कुँवरका अनुसार विभिन्न प्रहरी महानिरीक्षकको पालामा पनि यो निर्णय गराउने प्रयास भए पनि सफल हुन सकेको थिएन । यसअघि प्रहरी निरीक्षकसम्मका कर्मचारीले १२ वर्षसम्म जागिर अवधि पूरा गरे एक तह बढुवा गर्ने व्यवस्था थियो ।

तल्लो दर्जामा बढुवामा जाम लागेकाले मनोबल गिरेको भन्दै प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन वटा दर्जा पनि थप गरेको छ । थप गरिएका दर्जामा प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार छन् । प्रवक्ता कुँवर भन्छन्, ‘यो निर्णयले तल्लो तहका प्रहरीमा उत्साह ल्याएको छ, अब एउटै पदमा १६, १७ वर्षसम्म बसिरहनुपर्ने समस्या टर्ने भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७