कांग्रेस बागमतीको सभापतिमा प्यानलसहित बानियाँको उम्मेदवारी घोषणा


१७ मंसिर २०७८, शुक्रबार
nepali congress bagmati province fL0gS5JrJU

हेटौंडा, १७ मंसिर । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी बानियाँले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लड्न लागेका हुन् । उनको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेदवार रहेका छन् ।

यसअघि, बिहीबार जगदीश नरसिंह केसीले बागमती प्रदेश सभापतिका लागि प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए । उनको प्यानलबाट उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कञ्चनबादे श्रेष्ठ र माइकल रामचन्द्र अर्याल उम्मेदवार छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बन्न लागेका हुन् ।

त्यस्तै, पूर्व मन्त्री भीमसेनदास प्रधानले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको पक्षबाट उम्मेदवार बन्न लागेका हुन् । उम्मेदवारी घोषणा सभामा बोल्दै प्रदेश सभापति पदका उम्मेदवार बानियाँले बागमती प्रदेशलाई समृद्ध बनाउनका लागि र आम प्रदेशबासीलाई नजिकको पार्टी कांग्रेस हो भन्ने अनुभूति दिलाउनका लागि उम्मेदवारी घोषणा गरिएको बताए ।

लामो संघर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई चलायमान बनाउँदै सबै जाति, धर्म, वर्ग, लिंगको उत्थान गर्दै समृद्ध प्रदेश निर्माणमा आफूहरुले भूमिका खेल्ने उनले प्रतिवद्धता जनाए । अधिवेशनअन्तर्गत शुक्रबार (आज) मनोनयन दर्ता गरी अन्तिम उम्मेदवारको नामावली सार्वजनिक हुनेछ । शनिबार (भोलि) बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७