अभिनेत्री करिश्मा मानन्धर ‘ए प्लस ग्रेड’ ल्याएर कक्षा १२ उत्तीर्ण, ओइरियो बधाइ


१७ मंसिर २०७८, शुक्रबार
karishma manandhar

काठमाडौं, १७ मंसिर । अभिनेत्री करिश्मा मानन्धरले ‘ए प्लस ग्रेड’ ल्याएर कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छन् । ललितपुर गोदावरी नगरपालिका टौखेलस्थित किटिनी कलेजमा मानविकी संकाय पढिरहेकी मानन्धरले २.४१ जीपीए ल्याएर विद्यालय तहको परीक्षा पूरा गरेकी हुन् ।

मानविकी संकाय आफूलाई सजिलो लागेको र यसमा उत्कृष्ट अंकसाथ पास हुने विश्वास व्यक्त गरेकी करिश्माले आफू आएको अंकबाट सन्तुष्ट रहेको बताइन् । १२ कक्षा उत्तीर्ण भएसँगै अब उनले सोही कलेजमा स्नातक पनि पढ्ने बताएकी छन् । सदाबहार नायिकाको उपमा पाएकी मानन्धरले कक्षा ८ देखि पढ्न नपाएपछि अहिले पुनः अध्ययनलाई निरन्तरता दिएकी हुन् । उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको थियो । जसमा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए । गत वैशाखमै गरिनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ७ हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन् । यस्तै ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेको उनले जानकारी दिएका छन् ।

बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थी ३ हजार ८७५ जना छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् । यस्तै १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७