४० दिनपछि सर्वोच्च अदालत लयमा


१८ मंसिर २०७८, शनिबार

काठमाडौं, १८ मंसिर । न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक ८ गतेदेखि रोकिएको न्याय सम्पादन कार्य शुक्रबारदेखि लयमा फर्किएको हो ।

मंसिर १५ गतेदेखि नै नियमित सुनुवाइ प्रारम्भ हुने बताइए पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद सुरु भएपछि सुनुवाइ पुनः अवरुद्ध भएको थियो । शुक्रबार गोला प्रणालीबाट १२ वटा इजलास गठन भई सुनुवाइ गरिएको छ । सर्तसहित न्यायाधीशहरू इजलास फर्किएका हुन् ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ भएको बताउँदै भने, ‘शुुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ सुरु भएको छ । अब नियमित गतिमा अदालत फर्किन्छ ।’

यसअघि केही समयदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मिलापत्र, मुद्दा फिर्ता, तामेली लगायतको सुनुवाइ गरेका थिए । सोबाहेक पूर्व निर्धारित रहेको नियमित पेसीका मुद्दा सुनुवाइ गरेका थिएनन् । प्रधानन्यायाधीश जबरासँगको विवादका कारण न्यायाधीशहरूले लामो समयदेखि अघोषित रूपमा सुनुवाइ रोकेका थिए । शुक्रबार सर्वोच्चमा १० वटा संयुक्त र दुई एकल इजलास गठन भएका थिए । गठन भएमा सबै इजलास बसेका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७