त्रिविका आधा दर्जन केन्द्रीय विभागमै १० भन्दा कम विद्यार्थी, केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै


१९ मंसिर २०७८, आईतवार
tu

काठमाडौं, १९ मंसिर । त्रिभुवन विश्वविद्यालयका आधा दर्जन केन्द्रीय विभागलाई नै विद्यार्थी पाउन कठिन हुने गरेको छ । यी विभागमा दशभन्दा कम विद्यार्थी छन् । कतिपयमा त प्राध्यापक भन्दा विद्यार्थीको संख्या थोरै छ ।

मानविकी तथा सामाजिकशास्त्र संकायको डिन कार्यालयले सन् २०२१ मा स्नातकोत्तर तह पहिलो सेमेस्टरमा भर्नाका लागि लिएको प्रवेश परीक्षामा हिन्दीमा दुई, संस्कृतमा पाँच, इतिहासमा सात र भाषाविज्ञानमा नौजना मात्रै सहभागी भएका छन् । फाइन आर्टस्अन्तर्गत तबेलामा पाँच तथा नृत्यअन्तर्गत काथक र भरत नृत्यम्मा ६–६ जनाले मात्रै प्रवेश परीक्षा दिएका छन् । जनसंख्या अध्ययन केन्द्रीय विभागमा पनि ११ जनाले प्रवेश परीक्षा दिएका छन् । भर्ना हुनेको संख्या अझै कम छ ।

पहिले कम भएका केही विषयमा बढे, केहीमा पहल हुँदै छ : शिवलाल भुसाल शिक्षाध्यक्ष, त्रिवि
केही वर्ष पहिले विद्यार्थी संख्या अत्यन्तै न्यून भएका मानविकी तथा सामाजिकशास्त्र संकायका विषयमा अहिले संख्या बढेको छ । हिन्दीलगायत केही विषयमा अहिले पनि कम छ । कतिपय विषयमा राज्यले प्राथमिकता नदिँदा मास्टर्स डिग्रीपछि के गर्ने भन्नेमा अन्योल भएको देखिन्छ ।

त्यस्तै, कतिपय विषयमा विद्यार्थी आउने स्रोत नै देखिँदैन । स्नातकमा पढाइ नहुने, विद्यालय तहबाट पनि नआउने भएकाले समस्या छ । त्रिविले प्रमाणपत्र तह सञ्चालन गर्दा धेरै विषयमा विद्यार्थी आउँथे, अहिले त्यो स्रोत छैन । ब्रिजकोर्स राखेर पनि विद्यार्थी ल्याउने भन्ने छलफल भएको छ । विषय नराम्रा होइनन् । केन्द्रीय विभागहरूले पनि आफैँले पहल गरिरहेका छन् ।

दुई विद्यार्थी भर्ना भएको हिन्दी केन्द्रीय विभागमा चार स्थायी र तीन आंशिक गरी सात जना शिक्षक छन् । ‘हाम्रो विभागमा विद्यार्थी कम हुनुमा नीति र मानसिकताले असर गरेको छ,’ विभागीय प्रमुख सन्जिता बर्मा भन्छिन्, ‘हिन्दी भारतको भाषा हो भन्ने गलत सोचाइका कारण पनि विद्यार्थी कम भर्ना हुने गरेका छन् ।’

माथिल्ला सेमेस्टरमा पनि संख्या उस्तै छ । हिन्दीको एमफिल कार्यक्रमसमेत सञ्चालन छ । तर, त्यहाँ पनि दुई जना मात्रै विद्यार्थी छन् । विद्यालय तहदेखि नै हिन्दी भाषाका विद्यार्थी नभएकाले स्नातकोत्तरमा कम हुने गरेको बर्माको तर्क छ ।

पाँचजना विद्यार्थी भर्ना भएको संस्कृत केन्द्रीय विभागमा पनि चार स्थायी र एक आंशिक गरी पाँच शिक्षक छन् । विभाग प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम ११ जनाले प्रवेश परीक्षा दिएको दाबी गर्दै हालसम्म तीन विद्यार्थी मात्रै भर्ना भएको बताउँछन् । तर, डिन कार्यालयको सूचीमै पाँच विद्यार्थीले मात्रै प्रवेश परीक्षा दिएको उल्लेख छ ।

शिक्षक र कर्मचारीभन्दा विद्यार्थी कम हुँदा विश्वविद्यालय र विभागहरूले आकर्षण बढाउन सकेका छैनन् । जसकारण सम्बन्धित विषय प्रभावकारी बन्न सकेको छैन र प्रतिफलको तुलनामा निकै खर्चिलो भएको छ । हिन्दी विभाग प्रमुख बर्मा आकर्षक कार्यक्रम ल्याउन बजेट अभाव भएको बताउँछिन् । संस्कृत विभाग प्रमुख गौतम भने विद्यार्थीको आकर्षण बढाउन मिहिनेत गरिरहेको दाबी गर्छन् ।

सबैभन्दा आकर्षण सामाजशास्त्रमा, त्यसपछि अर्थशास्त्रमा
डिन कार्यालयका अनुसार स्नातकोत्तरको पहिलो सेमेस्टरमा केन्द्रीय विभाग तथा उपत्यकाभित्रका क्याम्पसमा गरी पाँच हजार आठ सय ६७ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । समाजशास्त्र अध्ययनका लागि सबैभन्दा धेरै एक हजार चार सय ५५ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । यो विषय पढ्न त्रिचन्द्र क्याम्पसमा दुई सय ३३ ले प्रवेश परीक्षा दिएकामा केन्द्रीय विभागमा ८५ जना सहभागी भए ।

विद्यार्थीका लागि दोस्रो आकर्षणको विषय अर्थशास्त्र बनेको छ । यो विषयका लागि एक हजार तीन सय ८३ ले प्रवेश परीक्षा दिएका छन् । सबैभन्दा बढी रत्नराज्यलक्ष्मी क्याम्पसमा पाँच सय ६६ ले प्रवेश परीक्षा दिएका छन् । केन्द्रीय विभागमा दुई सय ३७ जना सहभागी भएको डिन कार्यालयले जनाएको छ । बुद्धिस्ट, भूगोल र राजनीतिशास्त्रमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । यी विषय रोज्ने विद्यार्थी संख्या बर्सेनि बढ्दै गएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७