कांग्रेस महाधिवेशन : जो गुट फेरिरहन्छन्


१९ मंसिर २०७८, आईतवार

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३ औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए । देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्रीमा पराजित भए । त्यसपछिको केही समय देउवा गुटमै रमाएका केसीले उक्त समूह छाडे ।

देउवा गुटबाट बाहिरिएपछि केसी पार्टीभित्र रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूह वा १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार कता लाग्छन् भन्ने चासो कांग्रेस नेता–कार्यकर्तामा थियो । केसी पार्टीको १३औं महाधिवेशनअघिकै गुटमा फर्किए । १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षले शशांक कोइरालालाई महामन्त्रीमा अघि सार्ने तय गरेपछि केसी गुट परिवर्तन गरी देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

अहिले पुरानै गुटमा फर्केका केसी देउवाविरुद्ध संस्थापन इतरका नेतालाई एकजुट बनाउन सक्रिय छन् । केसीले केही समयअघिसम्म संस्थापन इतर समूहबाट सभापतिका आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालामध्येबाट एक साझा उम्मेदवार नभए आफू पनि सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका थिए ।

तर महाधिवेशन मिति नजिकिँदै गर्दा संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएका बेला केसीले १४औं महाधिवेशनमा पार्टी उपसभापतिमा उम्मेदवारी दिने बताउन थालेका छन् । केसीले संस्थापन इतर समूहबाटै उपसभापतिको उम्मेदवारी दिने बताए पनि सभापतिका आकांक्षीमध्ये उनी कोसँग जोडिन्छन् निश्चित भएको छैन ।

एउटा जीवन्त पार्टीमा विचार, कार्यक्रम तथा नीतिलाई लिएर गुट र समूह परिवर्तन हुनु अस्वाभाविक होइन । तर कांग्रेसका नेताहरूले पद, प्रतिष्ठा, सत्ता, शक्ति र व्यक्तिगत स्वार्थका लागि गुट परिवर्तन गर्दै आएका छन् । जुन कांग्रेसजनका लागि नौलो होइन । पद, प्रतिष्ठा, सत्ता, शक्ति र स्वार्थमा गुट परिवर्तन गर्ने केसीमात्र एक्लो नेता भने होइनन् । केसी जस्ता धेरै कांग्रेस नेताले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न गुट अदलबदल गर्दै आएका छन् । त्यो पनि पार्टी स्थापनाकालदेखि नै ।

यसरी नै गुट परिवर्तन गर्ने अर्का नेता हुन् केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री नारायण खड्का । माओवादीविरुद्ध संकटकाल लगाउने कि नलगाउने भन्ने विवादमा कांग्रेस विभाजन हुँदा खड्काले देउवालाई साथ दिएका थिए । २०६४ सालमा पार्टी एकीकरण भयो । त्यसपछि खड्काले बिस्तारै देउवाको साथ छाडे र पुरानो संस्थापनतिर लागे ।

संस्थापन पक्षतिर आफूलाई प्रतिबद्ध देखाउँदै खड्का सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारमा सहरी विकास मन्त्री बने । साढे पाँच वर्षअघि भएको पार्टीको १३औं महाधिवेशनमा देउवा इतर समूहबाटै केन्द्रीय सदस्य बनेका थिए उनी । तर १४औं महाधिवेशनसम्म आइपुग्दा खड्का फेरि देउवाको विश्वासपात्र मात्र बनेका छैनन्, उनले परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत पाएका छन् ।

सत्तासँगै आफूलाई बदल्ने सामथ्र्य राख्ने खड्कालाई हेरेर कांग्रेसका धेरै नेताले आफूलाई बदल्ने र फाइदा लिने प्रयास गरेका छन् । तर गुट अदलबदल गरेर पनि लाभ उठाउन नसक्ने नेता हुन् चन्द्र भण्डारी। २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । सुशील कोइराला नेतृत्वमा सरकार गठन भयो ।

विद्यार्थी राजनीति गर्दादेखि नै कोइराला परिवारसँग निकट सम्बन्ध राख्दै आएका भण्डारीले सुशील नेतृत्वको सरकारमा मन्त्री पाउने आशा गरेका थिए । तर उनको आशा निराशामा परिणत भयो। सुशीलकै समूहबाट १२औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भण्डारी मन्त्री नपाएपछि उनीविरुद्ध खनिए । अन्तिममा गुट नै परिवर्तन गरेर भण्डारी देउवा समूहमा लागे ।

२०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य निर्वाचित भण्डारी २०७४ सालको आमनिर्वाचनअघि देउवा नेतृत्वमा बनेको सरकारमा मन्त्री हुन चाहन्थे । तर उनी देउवा नेतृत्वको सरकारमा मात्र होइन, कांग्रेसको समर्थनमा गठन भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि मन्त्री बन्न पाएनन् ।

प्रदेशका विषयमा पार्टी लाइनविपरीत उभिँदा भण्डारी झन् अप्ठेरोमा परे। एनपी साउदसहितका नेताले पार्टीभित्र सम्बन्ध सुधार गर्न भूमिका निर्वाह गरे तर भण्डारी ०७४ सालको निर्वाचनपछि देउवाविरुद्ध युवाको मोर्चामा सक्रिय भए । देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका भण्डारी अहिले पार्टी नेता शेखर कोइरालासँग नजिकिँदै फेरि पुरानै समूह (हालको संस्थापन इतर) मा फर्केका छन् ।

त्यस्तै गुट फेर्नेको सूचीमा युवा नेता गगनकुमार थापा पनि पर्छन् । पार्टीको तत्कालीन संस्थापन पक्षसँगको निकट सम्बन्ध बनाउँदै राष्ट्रिय राजनीतिमा उदाएका थापा १२औं महाधिवेशनमा सुशील कोइराला समूहबाटै केन्द्रीय सदस्य निर्वाचित भए । पार्टीभित्रका अन्य गुटको पनि साथ र समर्थन पाएकै कारण उनले केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत पाए । सुशीलले १३औं महाधिवेशनबाट पनि सभापतिमा दोहोरिने बताउँदै आएका थिए । सुशील सभापतिमा दोहोरिन नहुने पक्षमा थापाका साथै नेता नरहरि आचार्यसहित थिए ।

महाधिवेशनको संघारमा सुशीलको निधन हुँदा तत्कालीन संस्थापन पक्षबाट कार्यवाहक सभापतिसमेत रहेका रामचन्द्र पौडेल स्वाभाविक उम्मेदवार जस्ता देखिए । तर तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पौडेललाई अस्वीकार गर्दै सभापतिको प्रत्याशी बने । पौडेल समूहबाट कोषाध्यक्षको उम्मेदवार बन्न प्रयासरत थापा अन्तिम समयमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बने । परिणाम उनको पक्षमा आएन, शशांक कोइराला महामन्त्रीमा निर्वाचित भए ।

राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि २००३ सालमा बिपी कोइरालाले पार्टी गठनका लागि आह्वान गरेसँगै गुटगत राजनीति सुरु भएको कांग्रेसमा सिटौला समूह १३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा स्थापित भयो । पार्टीभित्र मात्र होइन, राज्यसत्तामा पनि गुटगत आधारमा भाग पाउने र लिने परम्पराको विकास भएको कांग्रेसमा सिटौला समूह पनि त्यसको हिस्सेदार बन्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थापा सिटौला समूहबाट स्वास्थ्यमन्त्री बने । मन्त्री हुँदा राम्रै चर्चा कमाएका थापा र सिटौलाबीचको सम्बन्ध २०७४ सालको आमनिर्वाचनपछि पातलिन पुग्यो । निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा थापा पूर्वमहामन्त्री प्रकाशमान सिंहको पक्षमा उभिए ।

अर्का सांसद भीमसेनदास प्रधान विपक्षमा देखिएपछि सिटौला संसदीय दलको निर्वाचनमा खुलेनन्। त्यससँगै थापा र सिंहबीचको सम्बन्ध विस्तार हुँदै गयो भने सिटौलासँग चिसिन पुग्यो । १३औं महाधिवेशनमा देउवालाई सभापतिमा निर्वाचित हुन र पौडेललाई सभापति हुनबाट रोक्न सहयोगी बनेका थापा निर्वाचनअघि पार्टी प्रवक्ताको जिम्मेवारी नजिक पुगेका थिए । तर केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितका नेताका कारण प्रवक्ता हुन रोकिएका थापा आमनिर्वाचनपछि देउवाविरुद्ध खुलेका हुन् । अहिले सिटौला समूहबाट अलग भएका थापा संस्थापन इतर समूहबाट महामन्त्रीको प्रत्याशी बन्ने कसरतमा छन् ।

२०५९ सालमा कांग्रेस विभाजन हुँदा नेपाल विद्यार्थी संघको अध्यक्ष थिए विश्वप्रकाश शर्मा । पार्टीका प्रमुख भ्रातृ संगठनका अध्यक्षहरूले देउवा नेतृत्वको पार्टीलाई साथ दिँदा शर्मा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसमै रहे । पार्टीको १२औं महाधिवेशनबाट सुशील कोइरालालाई सभापति बनाउन समेत भूमिका खेलेका शर्मा १३औं महाधिवेशनमा भने देउवातिर खुले । कोइराला नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा नेवि संघका पूर्व अध्यक्षहरू केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनीत भए। त्यसपछि देउवासँग नजिकिएका शर्मा अहिले पार्टीको प्रवक्ता छन् । परिस्थितिले १३औं महाधिवेशनपछि फेरि शर्मा र सिटौला उनै देउवाको वरपर पुगेका छन् । १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्मा देउवासँग रहनेमा कांग्रेसका नेताहरूले आशंका व्यक्त गरिरहेका छन् ।

पूर्वमहामन्त्री कुलबहादुर गुरुङ १३औं महाधिवेशनमा देउवाको पक्षमा खुलेका थिए । आमनिर्वाचनपछि गुरुङ उनको विपक्षमा देखिएका छन् । उमेरले पनि पाका नेता गुरुङको १४औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ खुलेको छैन । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, आनन्द ढुंगाना, गोविन्द भट्टराईसहितका नेता १३औं महाधिवेशनपछि गुट फेरेर देउवा समूहमा लागेका हुन् । कांग्रेसको इतिहास जति लामो छ, त्यसभित्र गुटगत राजनीति पनि उति नै लामो छ । पार्टीमा सत्ता र शक्तिको आन्तरिक संघर्षले गाउँ तहसम्म गुटहरू मौलाएको अवस्थामा महाधिवेशनका बेला केन्द्रदेखि तल्लो तहसम्म गुट अदलबदलले तीव्रता पाएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७