कांग्रेस प्रदेश अधिवेशन : ६ वटा प्रदेशमा मतदान, प्रदेश २ मा अन्योल


१९ मंसिर २०७८, आईतवार
congress 1

काठमाडौं, १९ मंसिर । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी ६ वटा प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ । बिहीबारदेखि सुरु प्रदेश अधिवेशनमा शनिबार प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा मतदान सम्पन्न भएको हो ।

कतिपय प्रदेशमा मतदान सम्पन्न भए पनि आइतबारदेखि मात्रै मतगणना सुरु हुनेछ भने कतिपय प्रदेशको मतगणना जारी छ । त्यस्तै, प्रदेश २ को अधिवेशन भने शनिबार पनि सुरु हुन सकेन । केही जिल्लाका महाधिवेशन प्रतिनिधिको नामावली प्रदेश निर्वाचन आयोगसम्म आइनपुगेकाले अधिवेशन सुरु हुन समय लागेको हो ।

नेतृत्वका लागि प्रदेशहरूमा मिश्रित समीकरण देखिएका छन् । धेरै प्रदेशमा सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला समूहबीच सहकार्य छ । अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला समूहबीच समीकरण छ ।

प्रदेश १ को नेतृत्वका लागि सभापतिमा पार्टी संस्थापन पक्ष (शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूह)बाट झापाका उद्धव थापा र शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशमा कांग्रेस नेतृत्वका लागि तीनजना उम्मेदवार प्यानलसहित मैदानमा होमिएका छन् । सभापति देउवा समूहका इन्द्रबहादुर बाँनिया, संस्थापनइतर पक्षबाट जगदीश्वरनरसिंह केसी र कृष्ण सिटौला पक्षबाट भीमसेनदास प्रधान चुनावी मैदानमा छन् । बागमतीमा दुई हजार एक सय ३७ जना छन् ।

निर्वाचन समितिका अनुसार अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र ८३ सदस्य निर्वाचित हुनेछन् । खुलातर्फ ४८ र समावेशीतर्फबाट ३५ सदस्य निर्वाचित हुनेछन् ।

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापनइतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा थिए । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि एक सय ५० जनाबीच प्रतिस्पर्धा भएको थियो ।

जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी प्रतिस्पर्धामा छन् । महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डे, शर्मा प्यानलबाट किरणबाबु श्रेष्ठ र विष्णु लामिछानेले प्रतिस्पर्धा गरेका छन् । सहमहामन्त्री महिलातर्फ जोशी प्यानलबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।

सहमहामन्त्री दुई जनाका लागि जोशी प्यानलबाट राजनराज पन्त र झलबहादुर आले, शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे प्रतिस्पर्धामा छन् । सहमहामन्त्रीमा प्यानलबाहिरबाट युवराज बस्ताकोटी र गणेश सापकोटा प्रतिस्पर्धामा छन् ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापनइतर दुवैै पक्षले प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । संस्थापन पक्षबाट संघीय संसद्को सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल छ । संस्थापनइतरबाट संविधानसभा सदस्य, रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल छ ।

कर्णालीमा तीनवटा समूह सभापतिका लागि मैदानमा छन् । देउवा समूहबाट ललितजंग शाही, पौडेल समूहबाट तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाही र निधि समूहबाट मोतीराज बमले उम्मेदवारी दर्ता गराएका छन् । कर्णालीमा देउवा पक्ष बलियो मानिए पनि निधि पक्षले छुट्टै उम्मेदवारी दर्ता गरेका कारण पौडेल पक्षका शाही बलियो उम्मेदवार मानिएका छन् ।
सुदूरपश्चिममा संस्थापन समूहबाट कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायर र संस्थापनइतर समूहबाट कैलालीका तत्कालीन जिल्ला विकास समिति सभापति नारायणदत्त मिश्र सभापति पदका उम्मेदवार रहेका छन् ।

अन्य ६ वटा प्रदेशमा अधिवेशन सुरु भएर चुनावी प्रक्रिया समेत प्रारम्भ भइसक्दा पनि प्रदेश २ मा भने अझै अन्योल कायम छ । प्रदेश २ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये हालसम्म सातवटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले अविधेशन स्थगित भइरहेको छ ।

प्रदेश निर्वाचन समिति सदस्य अरुण यादवका अनुसार बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र–४ र रौतहटको निर्वाचन क्षेत्र–४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन । त्यसैगरी, सर्लाहीका चार निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट हुन सकेका छैनन् भने वडाको अधिवेशन समेत भएका छैनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७