राप्रपाको नयाँ नेतृत्व : आफ्नो पक्षका अधिकांश विजयी हुँदा कमल थापा पराजित


१९ मंसिर २०७८, आईतवार
Kamal Thapa 0 18042017070739

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भए पनि अन्य पदाधिकारीमा भने धेरैजसो उनी पक्षका उम्मेदवार विजयी भएका छन् ।

आज (आइतबार) बिहान सार्वजनिक निर्वाचन नतिजाअनुसार राप्रपाको अध्यक्ष पदमा थापालाई २ सय मतले हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पार्टीको पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापा पक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २,५२१ भोट ल्याए । यसै गरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १,८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १,६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् । महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २,२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १,८०५ भोट ल्याएर जित हासिल गरे ।

महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २,००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १,६४० भोट ल्याइन् ।

यो निर्वाचनले ४ उपाध्यक्ष र ३ महामन्त्रीसहित राप्रपाका १४८ जना केन्द्रीय सदस्य चुनेको हो । गत बुधबार उद्घाटन भएको राप्रपाको एकता महाधिवेशनअन्तर्गत शनिबार दिउँसो करिब १२ बजे शुरु भएको निर्वाचन (मतदान) राति साढे ११ बजेतिर सकिएको थियो । लगत्तै शुरु गरिएको मतगणना आइतबार बिहान १ बजे सकिएको थियो ।

अध्यक्ष पदका लागि कागजको मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदान गरिएको थियो ।
कूल ४,३७९ महाधिवेशन प्रतिनिधिमध्ये ५१४ जनाले मतदानमा भाग नलिएको राप्रपा निर्वाचन समितिले जानकारी दिएको छ ।
टिम राप्रपा
अध्यक्ष
राजेन्द्र लिङ्देन
उपाध्यक्ष खुल्ला
विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान
उपाध्यक्ष (महिला)
रोशन कार्की
महामन्त्री (खुल्ला)
डा. धवलशमशेर राणा
भुवन पाठक
महामन्त्री (महिला)
कुन्ती शाही

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७