पराजयपछि कमल थापाले तयार गरे आफूलाई हराउने ‘ज्ञानेन्द्र टिम’ का मान्छेको सूची

‘निर्मल निवास बाट चलखेल भयो’


१९ मंसिर २०७८, आईतवार
Kamal Thapa 4

काठमाडौं, १९ मंसिर । पार्टी अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देनसँग पराजय भोगेपछि कमल थापा पक्षको बैठक बसेको छ । आइतबार बिहान निर्वाचनको परिणाम आए लगत्तै थापा पक्षको भेला राजधानीको एक पाँच तारे होटलमा भएको हो ।

दुई घण्टा लामो बैठकमा चुनावी समीक्षाका साथै आगामी रणनीतिका सन्दर्भमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार बैठकमा कमल थापाले निर्मल निवासको चलखेलका कारण अनपेक्षित रूपमा आफूले पराजय भोग्नु परेको सुनाएका थिए । बैठकमा सहभागी अन्य नेताहरूको पनि महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह हाबी हुँदा नतिजा भने जस्तो नआएको निष्कर्ष रहेको थियो । महाधिवेशनको परिणामपछि होटल याक एण्ड यतिमा भएको आफू पक्षीय केही नेताहरुसँगको बैठकमा थापाले यस्तो निष्कर्ष निकालेका हुन् ।

थापालाई राप्रपाबाट किनार लगाउन निर्मल निवासबाटै मानिसहरु परिचालित गरिएको निष्कर्षसहित थापाले उनीहरुको सूची नै तयार पारेका हुन् । तर, कमल थापा पक्षबाट महामन्त्रीमा निर्वाचित भुवन पाठकले चुनावपछि सामान्य भेटघाट मात्रै भएको दाबी गरे । ‘अनौपचारिक छलफल भएको हो । त्यस्तो उल्लेखनीय केही छलफल भएन’, उनले भने, ‘इमिडियट रियाक्सन दिने केही कुरा पनि भएन ।’

यद्यपि निर्मल निवासले पार्टीको चुनावमा हस्तक्षेप गरेको विषयमा भने सामान्य चर्चा भएको भने पाठकले स्वीकारे । राप्रपाको निर्वाचनमा लिङ्देनसँग हारेसँगै कमल थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप भएको टिप्पणी गरेका थिए । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’, थापाले भनेका थिए, ‘बधाई ज्ञानेन्द्र शाह, धन्यवाद !’

आफूले राहत र उन्मुक्ति पाएको थापाको भनाइ थियो । ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’, पूर्वराजा ज्ञानेन्द्र शाहप्रति थापाले आक्रोश पोखेका थिए, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७