बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी


१९ मंसिर २०७८, आईतवार

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत खसेकोमा १४ मत बदर भएको छ ।

बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उभिएको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए ।

पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।

बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति समेत छन् । यसअघि देउवा नेतृत्वको सरकारमा बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७