राप्रपामा पुस्ता हस्तान्तरण


२० मंसिर २०७८, सोमबार
rajendra lingden 1

काठमाडौं, २० मंसिर । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ । ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो ।

एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो । निर्वाचन परिणामअनुसार लिङदेन १,८१७ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कमल थापाले १ हजार ६ सय १७ मत पाए । निर्वाचनबाट पार्टी नेतृत्व नयाँ पुस्तामा पुगे पनि थापाले यसलाई सहजै स्वीकार गर्न सकेको देखिएन । परिणाम सार्वजनिक हुनेबित्तिकै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको भन्दै आक्रोश पोखे । निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा समेत उनी सहभागी भएनन् । शपथग्रहण कार्यक्रममा उनलाई प्राथमिकता साथ बोलाइएको थियो ।

लिङदेनको विजयप्रति टिप्पणी गर्दै उनको प्यानलबाट महामन्त्री पदमा विजयी भएका धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो । निर्वाचन परिणामबाट यही बुझ्नु पर्छ । अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तरिकाले अघि बढ्छ ।’ चुनावी परिणामले कार्यकर्ता नेतृत्व परिवर्तनका पक्षमा रहेको पुष्टि भएको उनले बताए ।

लिङदेन २०४६ सालको राजनीतिक आन्दोलनपछि राजनीतिमा सक्रिय भएका हुन् । उनी स्थापनाकालदेखि नै राप्रपामा आबद्ध भए । २०४८ सालमा गठन भएको राप्रपा विद्यार्थी संगठनको उनी पहिलो अध्यक्ष हुन् । २०२२ सालमा पाँचथरको अमरपुरमा जन्मिएका लिङदेन सम्पन्न परिवारका होइनन् । उनी पाँचथरबाट झापा बसाइँ सरे । उनले झापाबाटै राजनीति सुरु गरे ।

२०६१ सालमा उनी तत्कालीन राजाबाट झापा जिल्ला विकास समितिको सभपातिमा मनोनीत भए । जिल्ला सभापति भएपछि उनको घरमा माओवादीले आगो लगाइदिए । त्यसपछि उनी बिर्तामोडमा बस्न थाले । जतिसुकै कष्ट भए पनि उनी आफ्नो विचारबाट पछि हटेनन् ।
उनी सुरुदेखि नै राजावादी हुन्। २०७० सालमा उनी राप्रपाको महामन्त्री भएका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङदेनले झापा ३ बाट जिते । त्यतिखेर उनले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए ।

महाधिवेशन निर्वाचनमा पराजय भोगेका राप्रपाका निवर्तमान अध्यक्ष थापा २०६४ सालमा भएको संविधानसभा सदस्यको चुनावपछि पनि पटकपटक मन्त्री भए । सरकारको नेतृत्वमा जो आए पनि थापा मन्त्री भइरहे। कहिले एमालेको सरकारमा त कहिले नेपाली कांग्रेसको सरकारमा उनी मन्त्री भए ।

‘उहाँ (थापा) ले राजावादीको नाममा जहिले पनि अवसर मात्र लिन खोज्नुभयो । राजावादी भन्ने उहाँ गणतन्त्र कार्यान्वयन गर्न गठित सरकारमा पनि मन्त्री हुन लालायित हुनुभयो’, लिङदेनको प्यानलबाट चुनाव जितेका एक केन्द्रीय सदस्यले भने, ‘उहाँको नेतृत्वमा पार्टी कमजोर भयो । पार्टी यस्तो अवस्थामा आउँछ भनेर हामीले सोचेकै थिएनौं । केन्द्रीय तहका नेताहरूले धमाधम पार्टी छाड्दै गए ।’

यो महाधिवेशनबाट पुस्ता हस्तान्तरण नभएको भए आगामी निर्वाचनमा राप्रपा झन् खस्किने अवस्था देखिएको थियो । यसैलाई ध्यानमा राखेर कार्यकर्ताले मतमार्फत नेतृत्व फेरेको ती सदस्यको विश्लेण छ । ती सदस्यले भने, ‘त्यसैले नेतृत्वको पुस्ता हस्तान्तरण गर्न कार्यकर्ता बाध्य भए ।’

निर्मल निवासप्रति थापाको असन्तुष्टि

कमल थापाले आफ्नो पराजयमा पूर्वराजा ज्ञानेन्द्र र उनी निकट व्यक्तिहरूलाई दोषी देखाएका छन् । अप्ठेरो परेको बेला आफूले साथ दिँदा पनि पूर्वराजाले धोका दिएको उनको विश्लेषण छ । पूर्व राजाप्रति थापाले गरेको यो कटाक्षलाई थापा निकट नेताहरूले मन पराएका छैनन् । थापाको विपक्षमा निवर्तमान डा. प्रकाशचन्द्र लोहनी खुलेरै लागे ।

त्यस्तै अर्का निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणा चुनावमा मौन देखिए, कतै खुलेनन् । आफू पराजित भएकोमा थापाले पूर्वराजाप्रति कटाक्ष गरिरहेका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले दोस्रो पटक गरेको ट्विटमा राजेन्द्र थापाले लेखेको गीत ‘पोहोर साल खुसी फाट्दा, जतन गरी मनले टालें, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालें, यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो?’ राखेका छन् ।

उनले आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेप भएको बताएका छन् । हिमानी शाह नामबाट राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएको थाहा पाएपछि थापा झनै आक्रोशित भए । उनले हिमानीप्रति पनि कटाक्ष गर्दै ट्विट गरे ।

प्यानलबाट थापाले हारे, अरूले जिते

अध्यक्षमा थापाले हारे पनि उपाध्यक्ष तथा महामन्त्री पदमा उनको प्यानलका उम्मेदवार विजयी भएका छन् । लिङदेन प्यानलबाट चुनाव लडेका धबलशमसेर राणाबाहेक सबै पदाधिकारी थापा प्यानलबाट विजयी भएका छन् । उपाध्यक्षमा विजयी विक्रम पाण्डेलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छ । उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन् । यी तीन नेता थापा प्यानलका हुन् ।

महामन्त्रीमा राणाबाहेक थापा प्यानलकै विजयी भएका छन् । महामन्त्रीमा विजयी भुवन पाठक र कुन्ती शाही थापा प्यानलका हुन् । थापाको परिवारबाट छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा केन्द्रीय सदस्यमा विजयी भएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७