जुम्लामा एमबीबीएस कक्षा शुरु


२० मंसिर २०७८, सोमबार
mbbs 1

जुम्ला, २० मंसिर । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा शुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न शुरु गरेको हो ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्धेश्यले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो ।

साथै आयोगले पहिलो पटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिटमध्ये आइतबार १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ । उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए । पहिलो नम्बरमा भर्ना भएका छात्र ओमकुमार यादवले भने, ‘जुम्ला आएर एमबीबीएस भर्ना हुन पाएकामा औधी खुशी छु ।’

प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ । सो तहमा भक्तपुरका डा. रहिस कोजु, काठमाडौं निवासी डा. प्रशंसा ताम्राकार र कपिलवस्तुका डा. वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् ।

यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा. ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा. मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), नर्सिङ पनि अध्यापन पनि शुरु गरेको छ । ती दुवै विषयमा २०-२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र वीपीएच पनि अध्यापन शुरु भइसकेको छ ।

प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ ।

अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आईसीयू) र चार शय्याको शल्यक्रिया कक्ष छ । ‘जुम्लामा एमबीबीएस कक्षा शुरुआत भएसँगै समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने छ । विपन्न जनताको पहुँचमा स्वास्थ्य सेवालाई स्थापित गर्न कोशेढुङ्गाको काम गर्नेछ’, प्रतिष्ठानका एक पदाधिकारीले भने ।

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले घर आँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेघावी छात्रछात्राको सपना पूरा भएको बताए । उनले भने, ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबीबीएस र एमडी कार्यक्रम सञ्चालनभएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा र सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।’

शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबीबीएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए । ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो’, उनले भने, ‘अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७