अब नेपाल एयरलाइन्सले दुबईमा हप्तामा नौं उडान भर्ने


२० मंसिर २०७८, सोमबार
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं, २० मंसिर । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकोमा आज आइतवारदेखि थप दुई उडान थपेर हप्तामा नौ उडान भर्ने भएको हो ।

दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि त्यस अवसरमा सहभागिता थियो ।

त्यस अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिए । उनले निगमका जहाज ग्राउन्डेड भन्दा आकाशमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गरे । निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताए ।

दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीको बाहुल्यता छ । थपिएको उडान हप्ताको आइतवार र बुधवार गरिनेछ । यो दिन दैनिक दुई उडान हुनेछ । काठमाडौंबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर बेलुका काठमाडौं नै फर्किनेछ । व्यापारिक हिसाबले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ । एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले हप्तामा १४ उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले अहिले दोहामा पाँच उडान गरिरहेको छ ।

नेपाल एयरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा हप्तामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ । महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ ।

नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान बाइडबडी ए ३३० जहाज छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७