जनमोर्चाद्वारा एमसीसीविरुद्ध आन्दोलन घोषणा


२० मंसिर २०७८, सोमबार
chitra bahadur kc
फाइल फोटो

काठमाडौं, २० मंसिर । राष्ट्रिय जनमोर्चाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन हुन नदिन दवाव दिने उद्देश्यले मंसिर २६ गते देशभर विरोध प्रदर्शन लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीसँग सम्बद्ध अमेरिकी उच्च अधिकारीहरू पटक पटक नेपाल आएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब दिइरहेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । मंसिर २८ गते संसदको हिउँदे अधिवेशन डाकिएको स्थितिमा सरकारले एमसीसी सम्झौतालाई अनुमोदनका लागि प्रस्तुत गर्ने सम्भावना रहेको जनमोर्चाको आशंका छ ।

‘हामीले पटक–पटक स्पस्ट गर्दै आएका छौँ कि उक्त एमसीसी सम्झौता नेपालको बृहत्तर हित र दीर्घकालिन हितका दृष्टिले सही छैन । त्यसकारण, त्यसलाई खारेज गर्न हामीले जोड दिएका छौँ’, केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जनमोर्चाले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसलाई खारेज गराउन र संसदबाट अनुमोदन गर्न नदिन देशव्यापी सङ्घर्षको आवश्यकता रहेको जनाएको छ ।

‘राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको बैठकले उक्त आवश्यकतालाई महसुस गरी यही मंसिर २६ गतेभित्र अनिवार्य रूपमा हरेक जिल्लामा एमसीसी सम्झौताको विरोधमा सङ्घर्ष गर्नका लागि कोणसभा, जनप्रदर्शन, गोष्ठी वा अन्तरक्रिया आदि जे सम्भावना छ त्यो गर्न मातहतका समितिहरूलाई निर्देशन गरिएको छ’, जनमोर्चाले विज्ञप्तिमार्फत भनेको छ ।साथै उसले सङ्घर्षलाई व्यापक र उच्च बनाउन विभिन्न मोर्चा र २२ दलीय तथा सङ्घसंस्थाको गठबन्धनलाई पनि सङ्घर्षका कार्यक्रम घोषणा गर्न प्रयत्न गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७