नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट : के फेरि लकडाउन हुँदैछ ?


२० मंसिर २०७८, सोमबार
road of kathamandu scaled

काठमाडौं : झण्डै ४० देशमा देखा परिसकेको नयाँ ओमिक्रोन भेरिअन्टबाट नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको दुई जनामा ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको पुष्टी भएको हो । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

भने, ‘नेपालमा ओमिक्रोन पुष्टि भएको पहिलो पटक हो । दुवै जना आइसोलेशनमा हुनुहुन्छ। थप कुनै लक्षण देखिएको छैन, स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ।’

यो सँगै फेरि लकडाउन हुन सक्ने समाचारहरु प्रवाह भएका छन् । तर नेपालमा तत्काल लकडाउनको सम्भावना नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भनछन्, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन ।’

अद्यपि अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षण अनिवार्य गरिएको उनको भनाई छ ।

सम्भावित खतरा
यता छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ। समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन्।

जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना जरुरी रहेको भाइरोलोजिस्ट डा. लुना भट्टको भनाई छ ।

भन्छिन्, ‘अध्ययनबाट सङ्क्रमण दर उच्च भनिएको छ यदि सङ्क्रमणसँगै जटिलता बढी भयो भने झन् समस्या हुन्छ । किनभने हामीले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरेका छैनौँ । सङ्क्रामक यस भेरियन्टले दीर्घरोगी वृद्ध वृद्धामा सङ्क्रमण भयो पनि जटिल स्थिति सृजना हुनसक्छ ।’

कसरी थाहा पाउने ?
डब्ल्यूएचओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ मा राखेको छ र, यसबाट उत्पन्न हुनसक्ने सम्भावित खतराका लागि तयारी अवस्थामा रहन अपिल गरेको छ ।

दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्कोट तुलनामा ओमिक्रोनबाट पुनः संक्रमित हुने सम्भावना झण्डै ३ गुणा रहेको देखाउँछ ।

घरमै गर्न सकिने आरडीटी विधिको परीक्षणले कुन भेरिअन्टको सङ्क्रमण छ भन्ने किटान गर्दैन।

ओमिक्रोनको आशङ्का गरिएको र नतिजामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पीसीआर परीक्षणको स्वाब ‘जीन सीक्वन्सिङ‘ भनिने पूर्ण आनुवंशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ।

यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्।

यसको बारेमा पूर्ण थाहा पाउन अझै केही दिन लाग्ने भाइरोलोजिस्ट डा. लुना भट्ट बताउछिन् । भन्छिन्, ‘ओमिक्रोन भाइरसको बारेका पूर्ण रूपमा थाहा पाउन अझैँ समय लाग्छ । किनभने ओमिक्रोन भेरियन्ट पुष्टि भएको १९र२० दिन मात्रै भयो । यो भेरियन्ट अझैँ लडाकु भइराख्छ कि कमजोर भएर जान्छ हेर्न बाँकी छ । ’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७