नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि : मास्क प्रयोग गर्न र भिडमा नजान विज्ञको सुझाव


२१ मंसिर २०७८, मंगलवार
Omicron Virus KNmtMCm4wM

काठमाडौं, २१ मंसिर । नेपालमा दुई जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी गत मंसिर ७ गते परीक्षण गरिएका ६६ वर्षीय अफ्रिकी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय एक व्यक्तिमा यो भेरिएन्टको संक्रमण पुष्टि गरेको हो । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरू दुवैको नमुना लिई राष्ट्रिय प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको हाे । अफ्रिकन नागरिक हवाई नाका हुँदै नेपाल प्रवेश गरेका थिए । प्रवेशका क्रममा उनको पिसिआर रिपोर्ट नेगेटिभ र पूरा डोज खोप लगाएको पाइएको थियो । उनीहरू दुवैलाई आइसोलेसनमा राखी उपचार गरिएको छ भने कुनै पनि गम्भीर समस्या नरहेको मन्त्रालयले जनाएको छ ।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट टेसिङ गरिएकोमा सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले बताए । ३५ देशमा फैलिसकेको यो भेरिएन्ट विश्वभरिमा ५ सय ७४ जनामा पुष्टि भइसकेको छ । ओमिक्रोन पहिलो पटक यही नोभेम्बर २४ मा अफ्रिकामा पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले यो भेरिएन्टबाट दक्षिण एसिया बढी प्रभावित हुने आंकलन गरेको छ ।

यो भाइरसको थप संक्रमण र प्रभावबाट आम नागरिकलाई बचाउन सरकारले उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हवाईनाका तथा स्थलगत नाकामा परीक्षण, यात्रुको आवतजावतलाई व्यवस्थित गर्ने, शंकास्पद यात्रुको एन्टिजेन परीक्षण गर्ने, शंकास्पद नमुनाको जिन सिक्वेन्सिङ गर्नेलगायतको काम भइरहेको छ ।

ओमिक्रोन कति खतरनाक ?

ओमिक्रोन भेरिएन्ट फैलिएका देशका नागरिकमा गम्भीर समस्या नदेखिए पनि यो भाइरस संक्रमणले खोप लगाएका र नलगाएका दुवैमा सामान्य लक्षण देखिएको,सर्ने दर भने बढी भएकाले त्रसित नहुन तर सचेत रहन विज्ञहरूको सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा.शेरबहादुर पुनले ओमिक्रोन संक्रमण भएका बिरामीमा गम्भीर समस्या नदेखिएको तर सर्ने दर बढी भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गरेर बच्नुपर्ने बताए ।

जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ का प्रमुख डा. श्रवणकुमार मिश्र भन्छन्, ‘खोप लगाएका र नलगाएका दुवैमा यसको संक्रमण देखिएको छ । विस्तृत अध्ययन हुनुअघि सचेत रहनुपर्छ ।’ यो भेरिएन्ट कति खतरनाक छ भनेर अहिले नै भन्न नसकिने उनले बताए ।

अफ्रिकी तथा अन्य देशमा यो भेरिएन्टको अहिलेसम्म कडा असर नदेखिए पनि बालबालिका, वृद्धवृद्धा तथा अन्य उमेर समूहमा कस्तो असर देखिन्छ भन्ने विषयमा हरेक देशले अध्ययन गर्न आवश्यक भएको उनले बताए । ‘युरोपमा असर नगरेपछि एसियासम्म आइपुग्दा यसको असर कति पर्छ भनेर हेरिनुपर्छ’, डा. मिश्रले भने ।

एसियाली राष्ट्रमा यसले कति असर पार्छ भन्ने थाहा पाउन भेरिएन्टको न्युट्रलाइजेसन परीक्षण हुनुपर्छ । यस विषयमा भारतको नेसनल युनिट अफ पुनेमा अध्ययन भइरहेको छ । यो अध्ययनपछि दक्षिण एसियामा यो भेरियन्टले पार्न सक्ने असरबारे विस्तृत विवरण आउने डा. मिश्रको भनाइ छ । अहिलेसम्म लगाइएका खोपले यो भेरिएन्टविरुद्ध काम गर्छन् कि गर्दैनन् भन्ने पनि यो अध्ययनबाट थाहा हुने उनले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७